शंकरलाई बिष्णुको प्रश्न, ‘पार्टीमा बहुमत गुमाएपछि बैठक बस्दिनँ भन्ने चाहिं राजनेता ?’

by समतल अनलाइन

काठमाडौं। प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटि सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले ‘प्रचण्ड–माधव नेपालको लडाइँ पदका लागि हो’ भनेर प्रमाणित केही नेताहरु लागिरहेको देख्दा आश्चर्य लागेको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका नेता शंकर पोखरेलले भनाई प्रति लक्षित गर्दै रिजालले सोधेका छन्, ‘पार्टी स्थायी समिति र संसदीय दलमा प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गर्ने चाहिं पदलोलुप, अनि पार्टीमा बहुमत गुमाइसक्दा पनि बैठकै बस्दिनँ भन्ने चाहिं राजनेता ?’

नेता पोखरेलले पोखरेलले मंगलबार साँझ फेसबुक स्टाटसमा पद, प्रतिष्ठा र स्वार्थका लागि प्रचण्ड–नेपाल आन्दोलनमा गएको दाबी गरेका थिए । लेखेका थिए, ‘सडक आन्दोलनमा पुग्नु भएका नेताहरु यतिवेला हाम्रो विवाद पदको लागि होइन भन्दै हुनुहुन्छ । हिजो विवाद मुलतः पदप्रतिष्ठा र स्वार्थ केन्द्रीत भएकै कारणले पार्टी, पार्टी जसरी संचालन हुन सकेको थिएन । नेताहरुका बीचको विवाद स्वार्थ केन्द्रीत भयो भनेर आम रुपमा प्रश्न उठे पछि नै प्रचण्ड कमरेडका नाममा कथित अभियोग पत्र तयार गरिएको थियो ।’

नेता रिजालले फेसबुकबाटै यसको उत्तर लेख्दै भनेका छन्, ‘प्रचण्ड-माधव नेपालको लडाइँ पदका लागि हो’ भनेर प्रमाणित गर्न मुख्यतस् ती मानिसहरू लागिरहेको देख्दा आश्चर्य लाग्छ, जसले एक/दुई होइन/ तीन पदसम्म अँठ्याइरहेका छन् र त्यतिले मात्र नपुगेर श्रीमती, बहिनी र ज्वाइँलाई समेत इच्छाएका पद दिलाउने सफलता पाएका छन् । उल्टै अरूलाई आरोपित गर्दै अर्ति दिन सक्ने त्यस्ता नेताहरूको क्षमतालाई मान्नुपर्छ ।’

मुख्यमन्त्री पोखरेलको श्रीमती, बहिनी र ज्वाइँले पाएको नियुत्तिप्रति नेता रिजालले लक्षित गरेका हुन् । पोखरेलको श्रीमती प्रतिनिधिसभा सदस्य छिन् भने ज्वाईँ शिवकुमार आचार्य भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा मनोनित भएका छन् । उनकी बहिनी मेनका पोखरेललाई विभाजित नेकपा ओली समुहको केन्द्रीय सदस्य बनाएका भएकी छिन् भने देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज थिए ।

नेता रिजालले थप सोधेका छन्, ‘साढे दुई बर्षको लिखित सम्झौता गरेर प्रधानमन्त्री भएको मानिसलाई पूरै कार्यकाल काम गर्नूस् भन्ने पदलोलुप, अनि पार्टीमा पनि, सरकारमा पनि रोजेकै पद चाहिन्छ भन्ने चाहिं त्यागी ! पार्टी स्थायी समिति र संसदीय दलमा प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गर्ने चाहिं पदलोलुप, अनि पार्टीमा बहुमत गुमाइसक्दा पनि बैठकै बस्दिनँ भन्ने चाहिं राजनेता !’

 
 
  
 

You may also like