प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा : नेता सिंह

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् ।

स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौं नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको असर स्थानीय सरकारसम्म परेको बताए ।

‘जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरे’, उनले भने । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उनले लगाए ।

विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले स्थानीय तहले विकास–निर्माणमा राम्रो फड्को मारेको विचार उनले व्यक्त गरे ।

वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामालगायतले गोकर्णेश्वरको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए । कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like