नेकपाका नेताहरुको आग्रह , भ्रम र गलत कुरालाई सत्य र तथ्यले चिनुस्

by समतल अनलाइन

बुटवल। जनादेश विपरित निरन्तर भागबण्डा खोज्ने र असहयोग गर्दै सरकार र संसद चल्नै नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशमा जाने घोषणा गरेपछि त्यसका पक्ष विपक्षमा नेकपाकै दुई समूहले प्रदर्शन जारी राखेका छन् ।
प्रचण्ड–माधव समूहले त सडकमै पुगेर प्रधानमन्त्री विरुद्ध नाराबाजी र अमर्यादित शब्दसहितका जुलुस प्रदर्शन गरिरहेको छ । नेकपामा जारी विवाद विभाजनकै अवस्थामा पुगेको छ तर, घोषणा हुन बाँकी रहेको छ ।
दुबै पक्षले एकले अर्कोलाई आरोप लगाउँदै आएका छन् । खासगरी प्रचण्ड–माधव समूहले पार्टीको विधान विपरित आफ्नै पार्टीका प्रथम अध्यक्ष र सरकारका विरुद्ध भ्रामक प्रचारबाजीसहित कारबाही गरेको घोषणा गरेको थियो । तर, ओली पक्षले भने कसैलाई कारवाही नगरेको बरु कार्यकारी अध्यक्षको कार्यकारी अधिकार मात्रै फिर्ता लिएको सार्वजनिक गरेको छ ।
नेकपामा देखिएको यो पछिल्लो घटनाक्रम एकआपसमा नाराजुलुशमै परिणत भएपछि आम कार्यकर्तादेखि जनतासम्म निराशा छाएको छ । उनीहरुले प्रचण्ड–माधव समूहले निरन्तर स्वार्थीकेन्द्रित राजनीति गरेको र सरकारलाई असहयोग गरेको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।
प्रचण्ड र माधव समूहले सडकमै पुगेर नाराजुलश गरिरहेको छ भने ओली पक्षका नेताहरुले आफ्ना पक्षका नेता कार्यकर्ताहरुलाई संयमित, अनुशासित र सभ्य भएर प्रस्तुत हुन आग्रह गर्दै भ्रामक प्रचारबाजीलाई चिरेर जनतामा भिज्न निर्देशन दिएका छन् ।
यसैक्रममा रुपन्देहीमा भूगोल रहेका नेकपाका नेताहरुले सरकारले गरेका काम, प्रयास गरेका योजना, अगाडि सारेका योजना, अवरोध भएका फेहरिस्त र संसदमा बन्धक बनाइएका जरुरी महत्वका विषयहरुको सूचि बनाएर जनतामा प्रष्ट पार्न निर्देशन दिएका छन् ।
उनीहरुले अरु (प्रचण्ड–माधव) पक्षले जतिसुकै तुच्छ, अस्लिल र अमर्यादित गालीगलौजमा उत्रिएपनि सोही प्रवृत्तिले प्रतिवादन नगरि संयमित रहन निर्देशन दिए । यो कामका लागि अगुवा स्तरका कार्यकर्ताहरुलाई समुदाय स्तरमा खटाउने ओली पक्षका यहाँका नेताहरुको तयारी छ ।
रुपन्देहीका १६ वटै पालिकाहरुमा विस्तारित बैठक बस्दै रणनीतिक योजना बनाउने काम भइहरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाइँले बताए । उनले प्रारम्भमा बैठक बस्ने, हालसम्म भएका कामको सूचि बनाउने र जनस्तरमा प्रष्ट पार्न अगुवा कार्यकर्ता भेला गर्नेलगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख चापागाइँको भनाइ छ ।
सोही क्रममा मंगलबार नेकपाको बुटवल उपमहानगर कमिटीको विस्तारिक बैठक बसेको छ । उक्त बैठकमा सहभागी पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका नेताहरुले भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्ने गरि योजना बनाइरहेको बताएका थिए ।
बैठकमा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज एवम् लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरीले गलत काम नगर्न र अरुले गर्ने गलत कामलाई पनि अब सहेर बस्न नहुने बताए । उनले अहिले पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामका बारेमा भन्दा विपक्षीले लगाएका भ्रामक आरोपका आधारमा धारणा बनाएर विरोध भइरहेको भन्दै त्यसैलाई चिरेर सत्य स्थापित गर्न अगुवा कार्यकर्तालाई आग्रह गरे ।
‘सकडमा तमासा देखाउन भन्दा खास कुरा के भएको हो, के गर्न खोजिएको हो त्यसलाई समुदायस्तरमै गएर प्रष्ट पार्नुपर्ने छ, समृद्ध नेपाल सुखी जनताको संकल्प साकार पार्नेगरि काम गर्नुपर्ने छ,’ नेता गिरीले भने,‘भ्रमको खण्डन अर्को भ्रमले होइन तथ्यले गर्नुपर्ने छ, यहीँ काममा केन्द्रित रहनुहोला ।’

नेकपाका लोकप्रिय नेता तथा लुम्बिनी प्रदेश सभाका संसदीय समितिका सभापित भोजप्रसाद श्रेष्ठले सत्तास्वार्थ, भागण्बण्डा र तिगडम सफल हुन नसकेपछि पार्टीलाई विभाजनको अवस्थामा पु¥याएर अहिले सडकमा तमासा देखाउने गरि भइरहेका प्रर्दशनबाट कोही पनि आत्तिन जरुरी नरहेको बताए ।

जनस्तरमा प्रष्ट र सत्य कुरा राख्दै अगाडि बढ्न जरुरी रहेको भन्दै नेता श्रेष्ठले तीनै तहमा पार्टीको नेतृत्वमा रहेका सरकारले गरेका कामको सूचि बनाएर जनतामा जानेगरि तयारी भइरहेको बताए । अर्का नेता पुरण गुरुङले सरकारले गरेका राम्रा काम, संसदमा प्रस्तुत भएका विषय र त्यसमा भाँजो हाल्नेहरुका विवरणसहित जनतामा पठाउने तयारी भइरहेको बताए ।

उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले अगुवा कार्यकर्ता भेलासंगै स्वास्थ्य मापदण्ड र स्वास्थ्य सुरक्षा अपनाउँदै जिल्ला व्यापी कार्यक्रमको तयारी भइरहेको बताए । उनले उपमहानगर कमिटीले १९ वटै वडा र टोलमा जनपरिचालन गर्नेगरि योजना बनाइएको जानकारी दिए ।

उपमहानगर कमिटीका जानकी नेपालले जनादेश अनुरुप सरकार पनि चल्न नदिने र संसदलाई गतिशिल पनि बनाउन नदिने षड्यन्त्रका विरुद्ध प्रधामन्त्रीले उपयुक्त कदम चालेका बताइन । प्रधानमन्त्रीको यहीँ उपयुक्त कदमको पक्षमा र सरकारले गरेका कामहरुको सन्देश बाकेर टोलटोलमा अभियान सञ्चालन गरिने बताइन् ।
१९ गते अगुवा कार्यकर्ता भेला यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले यही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजन गर्ने भएको छ ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । उक्त अगुवा भेलामा नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like