काठमाडौं । नेपालमा अझै केहि दिन ठूलो पानी पर्ने क्रम जारी रहने मौसमविदले बताएका छन् ।नेपालमा मनसुन गराउने प्रणाली सक्रिय रहेका कारण देशका धेरैजसो स्थानमा बर्षा हुने बताइएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्यून चापीय क्षेत्र रहेको छ । यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ ।
आज (शुक्रबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश–१ प्रदेश–२ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र प्रदेश–२ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
शनिबार पनि प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।