अस्पतालमा चिकित्सकसँग प्रधानमन्त्रीको यस्तो ठट्टा

काठमाडौं। आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टा समेत गर्न भ्याए ।

स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् ।

बेडबाट उठेर यताउता हिंड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए ।

उनले आफूलाई अझै १५–२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए ।

‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५–२० वर्ष केही हुँदैन’, ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन ?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् । राजधानी दैनिकबाट

 
 
  
 

You may also like