संविधान संशोधन कार्यदल ‘भताभुङ’

by समतल अनलाइन

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार बिहानै संसदीय दलका उपनेता सुवास नेम्बाङलाई फोन गरेर घरमा बोलाए । ‘के का लागि होला ? ’ नेम्बाङले कारण जान्न चाहे ।

‘छलफलका लागि’, नेपालले भने । ‘कस्तो छलफल ? ’ नेम्बाङले जिज्ञासा राखे, ‘सचिवालयले बनायो भनिएको कार्यदलको बैठक राख्न चाहनु भएको हो भने म त आउँदिनँ ।’ ‘बैठक होइन,’ नेपालले भने, ‘सामान्य छलफल गर्न खोजेको ।’

नेम्वाङ बिहान ११ बजे नेपाल निवासमा पुगे । त्यहाँ पार्टी नेता खिमलाल देवकोटा पहिल्यै पुगिसकेका रहेछन् । उपाध्यक्ष वामदेव गौतमको व्यक्तिगत रुचीका आधारमा संविधान संशोधनका लागि गृहकार्य गर्न नेकपाले नेपालको संयोजकत्वमा कार्यदल बनाएको विषय आइतबारदेखि चर्चामा आएको थियो । सचिवालयको शनिबारको बैठकले गोप्य रूपमा कार्यदल गठन गर्ने र त्यसले गोप्य रूपमै काम गर्ने निर्णय लिएको थियो ।

भोलिपल्टै कार्यदलका नेताका नामसहित सार्वजनिक भयो । नेकपा नेतृत्वलाई यो विषय झन् जटिल बनिदियो । नेम्वाङले सुन्ना साथ यसमा अरुची राखेका थिए । आफैंले बनाएको संविधान आफैं लागेर संशोधन गराउनु उनका लागि नैतिक संकटको विषय थियो ।

नेपाललाई भेट्ना साथ नेम्वाङले सोधे, ‘संविधान संशोधनका लागि कार्यदल बनाइएको विषय के हो ? ’ नेपालले प्रस्ट जवाफ दिएनन् । ‘संविधान संशोधनको विषय आवश्यकता र औचित्यका आधारमा गर्ने पार्टीको यसअगाडिकै निर्णय हो ।

तर के–केमा गर्ने र अहिले त्यसको औचित्य के हो ? फेरि यो गुपचुप गर्ने विषय होइन,’ नेम्वाङले नेपालसँग भने, ‘संविधान संशोधन जस्तो विषय पारदर्शी हुनुपर्छ । एउटा विषयमा मात्र संशोधन गर्ने कुरा सञ्चारमाध्यममा आएका छन्, त्यसो गर्दा सन्देश के जाला ? ’

नेम्वाङले एउटा व्यक्तिका लागि मात्र हेरेर गरिने संशोधनका पक्षमा आफू नरहेको र त्यस्तो कार्यदलमा बस्दा पनि नबस्ने नेपालसँग प्रस्टै भनिदिए ।

‘संविधान संशोधन पारदर्शी ढंगबाट हुनुपर्छ । यो कुनै एउटा पार्टीको लहडले हुने विषय होइन । सबै दल र जनतालाई विश्वासमा लिएर गर्नुपर्ने हुन्छ । त्यो पनि पारदर्शी रूपमा । के यो अहिलेको आवश्यकता र औचित्यको विषय हो र ? ’ नेपालसँग आफूले राखेको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘यस्तो कार्यदल बनेको भए मचाहिँ बस्दिनँ । तपाईं पनि बस्नुहुन्छ होला जस्तो मलाई लाग्दैन ।’ अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like