यात्रुवहाक बस दुर्घटना, २७ जना घाइते

by समतल अनलाइन

उदयपुर । गाईघाट(उदयपुर) दिक्तेल (खोटाङ) जोड्ने सगरमाथा लोकमार्गको त्रियुगा नगरपालिका १४ जितपुर खण्डमा बिहीबार दिउँसो दुई यात्रुवाहक बस एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरकाअनुसार गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे१ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा२ख ५४१८ नम्बरको बसले एकआपसमा ठक्कर खाएका थिए ।

मे१ ख १७४० नम्वरको सवारमध्ये १२ जना घाइते भएका छन् । यसैगरी बा२ ख ५४१८ न.को बसमा सवारमध्ये १५ जना घाइते भएको एसपी बुढामगरको भनाइ छ ।

‘घाइतेमध्ये धेरैको खुट्टा, नाक, निधार, पाखुरमा चोट लागेको छ,’ उनले भने, ‘सबै घाइते खतरामुक्त भएकाले जिल्ला अस्पताल गाईघाट बोक्सेमा उपचार भइरहेको छ ।’

हात खुट्टाको हड्डीमा समस्या देखिएकालाई जिल्ला बाहिर रिफर गर्ने गरी उपचार भइरहेको प्रहरीको भनाइ छ । साँघुरो सडकमा तिब्रगतिका कारण दुवै बसले एकआपसमा ठक्कर खाएको प्रहरीको भनाइ छ ।

 
 
  
 

You may also like