सरकारले दुई वर्षअघि नै मगाएको एक करोड पुरिया जीवनजल अहिलेसम्म आएन

by समतल अनलाइन

सम्झौतापछि २९ लाख पेस्की लिएर गएको खरिद कम्पनी अझै म्याद थप्ने लबिङमा

काठमाडौं । झाडापखालाका बिरामीलाई खुवाउन सरकारले ०७४ मा मगाएको ९८ लाख नौ हजार पुरिया जीवनजल अहिलेसम्म आएको छैन । साढे चार महिनामा उपलब्ध गराउने भन्दै २९ लाख पेस्की लगेको खरिद कम्पनी आकाश अन्तरिक्ष जेभी अहिले पनि म्याद थप्ने लबिङमा छ ।

आकाश अन्तरिक्षले एक सय ३५ दिनभित्र सबै जीवनजल सरकारलाई जिम्मा लगाउने गरी ०७४ जेठमा सम्झौता गरेको थियो । पाँच करोड ८५ लाखमा सम्झौता भएको थियो । जसअनुसार पहिलो लटमा ९० दिनभित्र ५० हजार पुरिया उपलब्ध गराउनुपर्ने थियो । त्यसैका लागि २९ लाख पेस्की लगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका खरिद प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए ।

तर, ठेकेदार कम्पनीले मापदण्डभन्दा सानो पुरियाको जीवनजल ल्यायो । जसलाई महाशाखाले स्वीकार गरेन । ‘जीवनजलको गुणस्तर ठीकै थियो, तर पुरिया केही सानो भएपछि जेभीलाई स्वास्थ्य सेवा विभागले पुनः अर्को बनाउन निर्देशन दिएको थियो,’ डा. चौरासियाले भने, ‘तर, उसले पुरिया बढाउन नसक्ने भन्दै पत्र पठाएपछि अहिलेसम्म सम्झौताअनुसार पुनर्जलीय झोल आउन सकेको छैन ।’

सम्झौता उल्लंघन गरेको खरिद कम्पनीले तीन वर्ष पुग्न लाग्दा गत २८ पुसमा पुनः म्याद थपका लागि निवेदन दिएको छ । अहिलेको निवेदनमा भने उसले सरकारले भनेअनुसार नै पुरियाको आकार बढाएर दिने उल्लेख गरेको चौरासियाले बताए ।

तर, अहिले तत्काल जीवनजलको संकट नभएकाले के गर्ने भन्नेमा महाशाखा अन्योलमा छ । पछिल्लो नियमअनुसार कामै नगरेको कम्पनी भए पनि एकपटक म्याद थप गर्न सक्ने प्रावधान भएकाले पनि अन्योलमा परेको कर्मचारीहरू बताउँछन् ।

तर, केही समयलाई मौज्दात रहेकाले सम्झौता तोड्न सक्ने आधार महाशाखासँग सुरक्षित छ । २९ लाख पेस्की लगेकोमा त्यसको १० प्रतिशत जरिवाना लगाएर रकम फिर्ता गर्न सकिने चौरासियाले बताए ।

सरकारी तथ्यांकअनुसार हरेक वर्ष करिब एक करोड पुरिया जीवनजल खपत हुन्छ । झडापखालाका बिरामीको शरीरबाट खेर गएको लवण, पोषकतत्व र पानी क्षतिपूर्ति गराउन पुनर्जलीय झोल खुवाउने गरिन्छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like