विविध धार्मिक कार्यक्रम गरी गुरु नानक जयन्ती मनाइँदै

by समतल अनलाइन
23Shares

काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

गुरु नानकको जन्म विक्रम संवत् १५२६ मा कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब क्षेत्रमा भएको थियो । उनले समाजमा व्याप्त जातीय विभेद, अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गर्दै मानवता, समानता, प्रेम तथा भ्रातृत्वको सन्देश फैलाएका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरु नानक एक ईश्वरमा विश्वास गर्थे । ‘ईश्वर एक छन् र उनी सर्वशक्तिमान् छन्’ भन्ने उनको मूल दर्शन थियो । उनले शिख धर्मको पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ मा समेटिएका धार्मिक शिक्षाको जग बसालेका थिए ।

गुरु नानक जयन्तीका अवसरमा विभिन्न गुरुद्वारामा विशेष पूजाआजा, भजनकीर्तन, धार्मिक प्रवचन तथा सामाजिक कार्यक्रम आयोजना गरिन्छ । यस दिनको सुरुवात गुरुद्वाराबाट निकालिने प्रभातफेरीबाट गरिन्छ । प्रभातफेरीमा श्रद्धालुहरू मन्त्रोच्चारण तथा भजन गाउँदै गुरु नानकको महिमा वर्णन गर्छन् । बिहानको समयमा गाइने विशेष भजनलाई ‘आसा दी वार’ भनिन्छ ।

यस अवसरमा गुरुद्वारामा ‘अमृत वेला’ अर्थात् बिहानको धार्मिक भेलापछि ‘लङ्गर’ सञ्चालन गर्ने परम्परा छ । लङ्गरमा जात, धर्म, वर्ण, लिङ्ग वा समुदायको कुनै भेदभाव नगरी सबैलाई निःशुल्क सामुदायिक भोजन गराइन्छ । गुरुद्वाराका स्वयंसेवकहरूले व्यवस्थापन गर्ने यो परम्पराले समानता, सामाजिक सद्भाव, सेवा र सहिष्णुताको सन्देश प्रवाह गर्दै आएको छ ।

त्यस्तै, गुरु पर्वको दुई दिनअघि नै शिख धर्मावलम्बीहरूले पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को लगातार ४८ घण्टासम्म पाठ गर्ने परम्परा छ । यसरी अविच्छिन्न रूपमा गरिने धार्मिक पाठलाई ‘अखण्ड पाठ’ भनिन्छ । गुरु नानक जयन्तीका दिन विधिपूर्वक यसको समापन गरिन्छ ।
गुरु नानकले प्रतिपादन गरेका मानवता, समानता, निःस्वार्थ सेवा र आपसी सद्भावका शिक्षालाई स्मरण गर्दै शिख धर्मावलम्बीहरूले यो पर्व श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन् ।

You may also like