नेपालमा विपद् पूर्वसूचनाका लागि सेल ब्रोडकास्ट प्रणालीको परीक्षण सफल

by समतल अनलाइन
12Shares

काठमाडौं । विपद्का समयमा नागरिकलाई समयमै सचेत गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले सोमबार नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो ।

परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक प्राप्त भएको थियो । सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचनासहितका सन्देश पठाउन सकिन्छ ।
विशेषगरी बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का बेला यस प्रणालीले नागरिकलाई समयमै सचेत गराउनुका साथै सम्भावित जोखिमबाट बच्न आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

दोस्रो पुस्ताको दूरसञ्चार सञ्जालमा प्रारम्भिक परीक्षण सफल भएपछि थप प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा गरी बाढीको उच्च जोखिम रहेका क्षेत्रमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा र जनधनको क्षति न्यूनीकरण गर्ने सरकारी प्रयासमा सेल ब्रोडकास्ट प्रणालीको परीक्षणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

You may also like