काठमाडौं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।रुसी रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एन–१२ विमान सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
रुसी सरकारी सञ्चारमाध्यमले प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने जनाएका छन् । घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
स्थानीय गभर्नर इल्या सेरेदियुकका अनुसार विमान यागुनोभो गाउँनजिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ ।
घटनास्थल पुगेका सेरेड्युकले हेलिकप्टर र चिकित्सा सुविधाहरू तयारी अवस्थामा रहेको बताए । उनले अब मुख्य काम अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु रहेको बताए।
विमानमा कुनै सामान लोड गरिएको थियो कि थिएन भन्ने कुरा स्पष्ट भइसकेको छैन । रुसी सेनाले हतियार र कर्मचारी ढुवानीका साथै खोज तथा उद्धार कार्यका लागि एएन-१२ विमान प्रयोग गर्छ ।

