बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय अभिनन्दित भएका छन् । प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था, बुटवलको १४औँ वार्षिक साधारण सभा तथा १५औँ प्रतिमा जयन्तीका अवसरमा उनलाई अभिनन्दन गरिएको हो ।
वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नगरको समग्र विकास निर्माण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पाण्डेयलाई अभिनन्दन गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए ।
अभिनन्दन ग्रहणपछि नगरप्रमुख पाण्डेयले जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था तथा बुटवलवासीको सहयोग र सहकार्यमा नगरको विकासले गति लिएको बताए । उनले आफ्नो बाँकी कार्यकाल पनि बुटवलको विकास र समृद्धिका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
बुटवलको लामो समयदेखिको समस्याका रूपमा रहेको सुकुम्बासी समस्या समाधान तथा भूमिहीनलाई लालपुर्जा वितरणका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै आवश्यक पहल गरिरहेको उनले बताए ।
संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा बुटवलका पूर्व नगर उपप्रमुख विमलबहादुर शाक्य, बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझी, संस्थाका सचिव गौतमलाल शाक्य तथा सदस्य पूजा बानियाँलगायतले संस्थाका गतिविधिबारे चर्चा गरेका थिए ।
कार्यक्रमका अवसरमा बुटवल मावि, उजिरसिंह मावि, महावीर बोर्डिङ स्कुल तथा स्थानीय मदरसालगायत विभिन्न विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै, संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी नियमित रक्तदाता तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सडक दुर्घटनामा परी ज्यान गुमाएकी स्वर्गीय प्रतिमा बस्नेतको स्मृतिमा स्थापना भएको यस संस्थाले हरेक वर्ष जनप्रतिनिधि, महिला पत्रकार तथा समाजसेवीलाई सम्मान गर्दै आएको छ । संस्थाले दीनदुःखी तथा असहायलाई सहयोग, विद्यार्थीलाई छात्रवृत्ति वितरण र ज्येष्ठ नागरिक सम्मानलगायतका सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ ।

