‘जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ, तयार रहनू’ : एमाले अध्यक्ष ओली

by समतल अनलाइन
31Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिएका हुन् । उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने उल्लेख गरे ।

आतंकपूर्ण वातावरण र कृयाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि, त्यस्तो आतंक सधैँ कायम नरहने र आत्मविश्वास तथा मनोबलकासाथ अगाडि बढ्ने उनले बताए । अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नेहरूका विरुद्ध पार्टी लिएर आगामी चुनावमा जित्न जाने उल्लेख गरे ।

त्यस्तै उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे । अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा बिघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उनको भनाइ छ ।

ओलीले समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै भएपनि अदालतका बिषयमा थप नबोल्ने धारणा राखे । अदालतका बारे धेरै बोल्दा आफुमाथि मानहानीको मुद्दा थपिन सक्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले जुनसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अगाडि बढ्ने दृढता व्यक्त गरे । आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र जनतासँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न उहाले निर्देशन दिए ।

You may also like