तिलोत्तमामा औद्योगिक व्यापार मेलाको तयारी तीव्र, ८० फिट अग्लो वाटरफलदेखि रामायण शोसम्मका आकर्षण

by समतल अनलाइन
28Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा आयोजना हुन लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–५, मणिग्राममा ‘चौथो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८३’ सञ्चालन हुन लागेको हो।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना गर्न लागिएको मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, औद्योगिक तथा व्यावसायिक गतिविधिको विस्तार र आर्थिक चलायमानतामा जोड दिने आयोजकले जनाएको छ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमी तथा व्यवसायीलाई व्यावसायिक अवसर प्रदान गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए। उनका अनुसार मेलालाई व्यापारिक गतिविधिसँगै कृषि, प्रविधि र पर्यटन प्रवर्द्धनको साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व तथा लुम्बिनी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको प्रवर्द्धनमा आयोजना हुने मेलामा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठन सहआयोजकका रूपमा रहेका छन्। मेलामा करिब ३०० वटा स्टल रहने आयोजकले जनाएको छ।

१४ दिनसम्म सञ्चालन हुने मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि, पर्यटन तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिइनेछ। संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीका अनुसार कृषि र पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने गरी विभिन्न कार्यक्रमसमेत समावेश गरिएका छन्।

मेलामा व्यापारिक तथा कृषि उत्पादनको प्रदर्शनीसँगै मनोरञ्जनका लागि पनि आकर्षक संरचना र गतिविधि राखिने भएको छ। संघका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटरफल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका प्रमुख आकर्षण हुनेछन्।

त्यसैगरी पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैली झल्किने गरी निर्माण गरिने मुख्य प्रवेशद्वारले पनि दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। मेलामा रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम र बालउद्यानलगायतका मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ।

तिलोत्तमा क्षेत्रको पर्यटन प्रवर्द्धनलाई समेत मेलाले विशेष प्राथमिकता दिएको छ। नगरभित्र रहेका पर्यटकीय स्थल तथा गन्तव्यको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन ग्यालरी स्थापना गरिने आयोजकले जनाएको छ। यसबाट तिलोत्तमाका पर्यटकीय सम्भावना र गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेलालाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम तथा वातावरणीय सचेतनासँग पनि जोड्न खोजिएको छ। जलवायु परिवर्तन र त्यसले पारेका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। विद्यार्थीलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले विशेष कार्यक्रम राखिएको छ भने हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी विचार प्रस्तुत गरिनेछ।

यसका अतिरिक्त विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफल आयोजना गरिनेछ। उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले मेलास्थलमा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिटको कार्यक्रमसमेत राखिएको छ। यसले श्रमसम्बन्धी विषयमा जानकारी, परामर्श र सहजीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

संघका निवर्तमान अध्यक्ष गुणनिधि (माधव) भण्डारीले यसअघि संघले तीनवटा औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै चौथो संस्करणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संघको सिंगो टिम तयारीमा जुटेको बताए।

मेला सफल बनाउन तिलोत्तमा उद्योग वाणिज्य संघले पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सुरुदेखि नै विभिन्न जिम्मेवारी तोकेर परिचालन गरेको छ। अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी दिइएको छ भने निवर्तमान अध्यक्ष गुणनिधि (माधव) भण्डारीलाई अतिथि सत्कार, मूल्याङ्कन तथा अनुगमन समितिको संयोजक बनाइएको छ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीलाई मूल आयोजक समितिको सहसंयोजक, मानार्थ सदस्य हरिलाल पाण्डेलाई राजनीतिक दल तथा संघसंस्था समन्वय समितिको संयोजक, उद्योग उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई स्टल दर्ता तथा वितरण समिति संयोजक र वाणिज्य उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलाई स्टल निर्माण तथा वाणिज्य समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ।

त्यसैगरी महासचिव राजकुमार पाण्डेलाई प्रवक्तासहित उपहार, प्रमाणपत्र, परिचयपत्र तथा छपाइ समिति संयोजक, कोषाध्यक्ष टीकाराम भण्डारीलाई मञ्च, स्वागतद्वार तथा सजावट समिति संयोजक, सचिव वीना न्यौपानेलाई तालिम, गोष्ठी तथा सेमिनार समिति संयोजक र सहसचिव कृष्णप्रसाद पाण्डेलाई खाना, खाजा तथा आवास समिति संयोजकको जिम्मेवारी दिइएको छ।

सहकोषाध्यक्ष वसन्त रोक्का क्षेत्रीलाई कृषि, प्रविधि तथा बजारीकरण समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। यसका साथै संघका अन्य कार्यसमिति सदस्यहरूलाई पनि विभिन्न उपसमिति तथा जिम्मेवारी प्रदान गरी मेलाको तयारीमा परिचालन गरिएको छ।

स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक लगानीको सम्भावना पहिचान, कृषि तथा प्रविधिको प्रवर्द्धन र तिलोत्तमाको पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित आयोजना हुन लागेको मेलाले यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You may also like