गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी कार्यालय परिसरस्थित सिनियर अधिकृतको निवासमा मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार बिहान करिब ९ः३० बजेसम्म पनि केसी नउठेपछि सहकर्मीहरूले उनको खोजी गरेका थिए । क्वार्टरको ढोका भित्रबाट बन्द रहेको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट भित्र प्रवेश गरी उनलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।
त्यसपछि तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले जानकारी दिएका हुन् ।
हाल केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी बोगटीले बताएका छन् ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी निरीक्षक केसीको मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

