दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

by समतल अनलाइन
25Shares

बुटवल। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संगीतालय, बुटवल प्रथम भएको छ ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही दोस्रो र नेपाल मगर संघ बुटवल–७ तेस्रो भएका छन् । त्यस्तै, रागश्री संगीतालयको अर्को समूह र भानु पारिजात आमा समूहले सान्त्वना स्थान हासिल गरेका छन् भने पाल्पाली समाज रुपन्देही र सुक्रपथ आमा समूह प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने समूहलाई जनही तीन हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्णायक समिति संयोजक दिल्लीनारायण पाण्डेसहितको टोलीले प्रतियोगिताको मूल्यांकन गरेको थियो । विजयी समूहलाई संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलसहित पदाधिकारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बुटवल–८ स्थित सुक्रपथमा कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन भइरहेको महोत्सवअन्तर्गत सांस्कृतिक परम्परा र मौलिकताको संरक्षण गर्ने उद्देश्यले देउसीभैलो प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । त्यसैगरी शनिबार अन्य सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालित महोत्सवमा महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । महाेत्सवकाे पहिलो दिन कार्यक्रम उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेकाे थियाे । दोस्रो दिन देउसीभैलो प्रतियोगिता गरिएकाे छ भने तेस्रो दिन आज राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ ।

You may also like