गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

by समतल अनलाइन
30Shares

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दान बहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

उनले प्रहरी संगठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए ।

उनले डिजिटल रूपान्तरण, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिप फेक, संगठित अपराध, र लागुऔषध बेचबिखन जस्ता नयाँ चुनौतीहरूप्रति सचेत रहनुपर्ने उल्लेख गरे ।

फिल्डमा खटिने सबै प्रहरीको मनोबल उच्च राख्ने गरी काम गर्न पनि उनले निर्देशन दिए ।त्यस्तै दर्ज्यानी चिन्ह ग्रहण गर्दै नवनियुक्त महानिरिक्षक केसीले संविधान र कानुनप्रति अविचलित रहँदै नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने धारणा राखे ।

उनले आधारभूत तह लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूको गुनासो सुन्ने संयन्त्र तत्काल सुरु गर्ने बताए । साथै सरकारसँग आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता, राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि सहयोगको आग्रह गरे ।

You may also like

This will close in 0 seconds