कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले चलायो दुई राउन्ड हवाई फायर

by समतल अनलाइन
43Shares

कपिलवस्तु । लागूऔषध ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले संयुक्त रूपमा छापा मारेको थियो। प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा गएको टोलीले संयुक्त रूपमा कारबाही गरेको हो।

खानतलासीका क्रममा भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए।

प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानमा लुकाएर राखिएको २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। राधाकृष्ण नास्ता पसलमा कालो प्लास्टिकभित्र लुकाइएको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

You may also like

This will close in 0 seconds