काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमा समेटियो।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। बिपिन आचार्यले २०, बिपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रनको योगदान दिए।
पोखरालाई लक्ष्यसम्म पुग्न नदिन जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। हरमित सिंह र सैफ हसनले २–२ तथा ललित राजवंशी र जेम्स निसमले १–१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।
जनकपुरका त्रितराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मोइन अलीले २१, अभिषेक तिवारीले अविजित २४ तथा जेम्स निसमले ११ रन जोडे।
पोखराका शाकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए। चामिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले १–१ विकेट लिए।
ब्याटिङमा २१ रन बनाएका मोइन अलीले बलिङमा ३ विकेट लिँदै जनकपुरको जितमा निर्णायक भूमिका खेले। उनी खेलका मुख्य प्रभावशाली खेलाडी बने।
यस जितसँगै जनकपुर ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यता लगातार दोस्रो हार बेहोरेको पोखरा भने अंकविहीन छ।


