फर्निचर व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड,पत्रकार प्रदीप आचार्य नगदसहित सम्मानित

by समतल अनलाइन
27Shares

बुटवल । फर्निचर व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै आधुनिक प्रविधिसँग जोड्न सके आयातित उत्पादनसमेत स्वदेशमै निर्माण गर्न सकिने सरोकारवालाले बताएका छन्। रुपन्देहीका फर्निचर उद्योगीले व्यवसायको संरक्षण, दक्ष जनशक्ति उत्पादन, दर्ताबिनाका व्यवसायको नियन्त्रण र फर्निचर उद्योगका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
फर्निचर उद्योग संघ रुपन्देहीको २७औं साधारणसभामा सहभागी वक्ताहरूले फर्निचर व्यवसायमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार र सरोकारवाला संस्थाबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले व्यवसायीका समस्या समाधानका लागि भाषण र आश्वासन मात्रै पर्याप्त नहुने बताए। एकीकृत व्यावसायिक सिटी निर्माण गर्न नसक्दासम्म व्यवसायीका समस्या दोहोरिरहने उनको भनाइ थियो।
‘व्यवसायीले दुःख पाइराख्ने, हामी आएर मन्तव्य व्यक्त गर्ने, शुभकामना दिने र फर्किनेले मात्रै अर्थ राख्दैन,’ उनले भने।
नगरप्रमुख पाण्डेयले बुटवलमा अटो भिलेज, ग्रीन सिटी, फर्निचर सिटी र कबाड सिटी निर्माणको प्रस्ताव अघि सारे। यी चारवटै क्षेत्र व्यवस्थित गर्न करिब १०० बिघा जग्गा आवश्यक पर्ने भए पनि बुटवलमा जग्गाको अभाव रहेको उनले बताए। त्यसका लागि छिमेकी पालिकासँग समन्वय गरी जग्गा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।
उनले अटो भिलेजमा विद्युतीय सवारीसाधनसहित सबै प्रकारका सवारीसाधन मर्मत गर्ने आधुनिक सुविधा हुनुपर्ने बताए। त्यस्तै, फर्निचर, ग्रिल तथा पुनःप्रयोग गर्न मिल्ने वस्तुको कारोबार गर्ने व्यवसायलाई निश्चित क्षेत्रमा व्यवस्थित गर्न सके व्यवसायी र स्थानीय दुवैका समस्या समाधान हुने धारणा राखे।
दर्ताबिनाका व्यवसायमाथि अनुगमन कडा बनाउने प्रतिबद्धता जनाउँदै उनले आवश्यक अनुगमन टोली निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए। अनुगमनका लागि नगर प्रहरी परिचालन गर्नुपर्ने भए त्यसको खर्चसमेत उपमहानगरपालिकाले व्यहोर्ने उनको भनाइ थियो। व्यवसायीलाई तालिम र व्यवसाय विस्तारका ठोस योजना ल्याउन आग्रह गर्दै उनले एकीकृत व्यावसायिक सिटी निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले फर्निचर व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। अध्ययन गरेका युवालाई यस क्षेत्रमा आकर्षित गर्न सके चीनबाट आयात भइरहेका फर्निचरजन्य सामग्रीसमेत नेपालमै उत्पादन गर्न सकिने उनको दाबी थियो। व्यवसायीलाई अनुगमन तथा दर्ता प्रक्रियामा वडा कार्यालयले सहयोग गर्ने उनले बताए।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगलाई प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता रहेको बताए। संघले मजदुरलाई सीपमूलक तालिम प्रदान गर्दै आएको उल्लेख गर्दै उनले फर्निचर व्यवसायीलाई पनि आवश्यकताअनुसार तालिम उपलब्ध गराउन तयार रहेको जानकारी दिए।
रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले स्थानीय उत्पादनलाई ‘मेड इन रुपन्देही’ ब्रान्डका रूपमा स्थापित गर्न व्यवसायीलाई आग्रह गरे। स्थानीय उत्पादनको पहिचान र बजार विस्तारका लागि आफ्नो संस्था सहयोग गर्न तयार रहेको उनले बताए।
उद्योग व्यापार संघ बुटवलका वरिष्ठ उपाध्यक्ष पदम जिसीले फर्निचर व्यवसायीका लागि छुट्टै औद्योगिक ग्राम निर्माण गर्न स्थानीय सरकारलाई सुझाव दिए।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार विष्णुकुमार श्रेष्ठले २३ वर्षपछि नाम परिवर्तन गरी जिल्लाभरका व्यवसायीलाई समेट्दै संस्थालाई संस्थागत र विस्तार गरिएको बताए। पूर्वअध्यक्ष एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक सुरेन्द्र ज्ञवालीले फर्निचर उद्योगको संरक्षणका लागि दर्ताबिनाका तथा अनौपचारिक रूपमा सञ्चालित व्यवसाय नियन्त्रण गर्नु आवश्यक रहेको बताए।
सल्लाहकार एवं बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले संस्थालाई बलियो बनाउँदै व्यवसायमा आधुनिक प्रविधि भित्र्याउन र गुणस्तरीय सामग्री उत्पादन गर्न व्यवसायीलाई सुझाव दिए। नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले संघले गर्ने अनुगमनका गतिविधि सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न आग्रह गरे।
सभामा संघका महासचिव खिम खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार रुपन्देहीमा ९२३ फर्निचर उद्योग दर्ता भएका छन् भने तीमध्ये संघमा २१५ उद्योगी मात्रै आबद्ध छन्। फर्निचर उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १५ हजार जनालाई रोजगारी दिएको प्रतिवेदनमा उल्लेख छ।
दक्ष जनशक्ति विदेश पलायन हुनु, आयातित तयारी फर्निचरसँग प्रतिस्पर्धा गर्न कठिन हुनु र दर्ताबिनाका उद्योग सञ्चालन हुनु यस क्षेत्रका प्रमुख चुनौती रहेको प्रतिवेदनमा औंल्याइएको छ।
संघले बुटवल, देवदह, तिलोत्तमा र सैनामैनामा नगर उपसमिति गठन गरेको जनाएको छ। त्यसैगरी, दर्ताबिनाका उद्योगको पहिचान र व्यवस्थापनका लागि विभिन्न स्थानमा अनुगमन गरिएको तथा २० जना सदस्यलाई १६ दिने सीएनसी अपरेटर तालिम प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।
संघका अध्यक्ष जिवकान्त काफ्लेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नेत्र रुचालको स्वागत तथा उपाध्यक्ष अशोक कुँवरको धन्यवादमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अनिरुद्र खनालले गरेका थिए।
पत्रकार आचार्यसहित दुई जना सम्मानित
यसैबीच, फर्निचर उद्योग संघ रुपन्देहीले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार प्रदीप आचार्यलाई नगदसहित सम्मान गरेको छ। संघको साधारणसभाको अवसरमा दैनिक लुम्बिनीका अनलाइन संयोजक आचार्यलाई सम्मान गरिएको हो। उनी प्राइम टेलिभिजन र नेपाल फोटो लाइब्रेरीमा समेत आबद्ध छन्।
सोही अवसरमा संघको कार्यालयमा लामो समयदेखि कार्यरत कार्यालय सचिव थर्कराज खनाललाई पनि सम्मान गरिएको थियो।

You may also like

This will close in 0 seconds