दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

by समतल अनलाइन
33Shares

काठमाडौं । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ९८८ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म १५ दिनको अवधिमा देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन्। दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा भएका छन्। कोशीमा ३९७ वटा दुर्घटना हुँदा सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्। यस्तै, काठमाडौं उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न भएका छन्। उक्त अवधिमा एक हजार ५५२ मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन दुर्घटनामा संलग्न भएका छन्।

गत वर्षको दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए। यस वर्ष दुर्घटनाको संख्या गत वर्षको तुलनामा घटे पनि दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको संख्या उल्लेख्य रहेको छ।

You may also like