काठमाडौं । यस वर्षको दशैँ अवधिभर नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
फूलपातीका दिन हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
असोज ३१ गते शनिबार फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा देशका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने पूर्वानुमान छ ।
मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
फूलपातीको राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।
अष्टमीका दिन पनि केही स्थानमा वर्षा र हिमपात
कात्तिक १ गते आइतबार अष्टमीका दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
नवमीदेखि दशमीसम्म अधिकांश स्थानमा मौसम सफा
कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ ।

