बुद्ध सामुदायिक टेलिभिजनको मौलिक तीजगीत प्रतियोगिताको तयारी पूरा

by समतल अनलाइन
47Shares

बुटवल । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको आयोजनामा हुने अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को तयारी पूरा भएको छ।

नेपाली महिलाहरूको पर्व हरितालिका तीज तथा टेलिभिजनको १८औँ स्थापना दिवसको अवसर पारेर बिहीबार प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा रुपन्देहीका विभिन्न स्थानीय तहका १४ विद्यालय सहभागी हुने कार्यक्रमका सह–संयोजक शेखर अर्यालले जानकारी दिए ।

प्रतियोगितामा कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नोवेल इन्भारोमेन्ट एकेडेमी, लिटिल प्याराडाइज इङ्लिस स्कुल, न्यू लुम्बिनी इङ्लिस बोर्डिङ स्कुल, सन मोडेल इङ्लिस बोर्डिङ स्कुल, तिनाउ इङ्लिस बोर्डिङ स्कुल, न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, इन्टलेक्चुअल एकेडेमी, लक्ष्मी माध्यमिक विद्यालय, ज्ञान पुन्ज इङ्लिस बोर्डिङ स्कुल, एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र ज्ञान गंगा पाठशालाले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने दुई विद्यालयले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक बाबुराम अर्यालले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा कञ्चन गाउँपालिकाले सहकार्य गरेका छन्।

प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स प्रालि रहेको छ। त्यस्तै अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजकका रूपमा रहेका छन्।

मौलिक तीज संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता बिहीबार बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

You may also like