बुटवलको नवीन औद्योगिक विद्यालयको सुदूरपश्चिमका उत्कृष्ट सामुदायिक विद्यालयमा शैक्षिक अवलोकन

असल शैक्षिक अभ्यासको अध्ययन गर्दै चार जिल्लाका विद्यालयमा अन्तरक्रिया, बुटवलको शिक्षा अनुभव साटासाट

by समतल अनलाइन
55Shares

बुटवल। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विज्ञान विषयको प्रवर्द्धन तथा प्रभावकारी शिक्षण अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले बुटवलको नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका नमुना सामुदायिक विद्यालयहरूको अन्तरविद्यालय अवलोकन भ्रमण सम्पन्न गरेको छ।

विद्यालयको आयोजनामा गरिएको भ्रमणअन्तर्गत बाँके, कैलाली र कञ्चनपुरका विज्ञान विषय प्रवर्द्धन कार्यक्रम लागू भएका तथा ठूलो विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयहरूको शैक्षिक अभ्यास, व्यवस्थापन र पूर्वाधारको अध्ययन गरिएको हो।

भ्रमणका क्रममा बाँकेको नेपालगञ्जस्थित मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालय, कैलालीका दुर्गालक्ष्मी माध्यमिक विद्यालय र धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय तथा कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा अवलोकन तथा अन्तरक्रिया गरिएको थियो।

नेपालगञ्जस्थित मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। कक्षा ९ देखि १२ सम्म अतिरिक्त कक्षा सञ्चालन, साप्ताहिक परीक्षा, विद्यार्थीमा अनुशासन र असल संस्कार विकास, शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्न विद्युतीय हाजिरी र जरिवानाको व्यवस्थालगायतका अभ्यास विद्यालयले अवलम्बन गरेको छ। विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूह सञ्चालन गरेको विद्यालयमा विषयगत समूहअनुसार छुट्टाछुट्टै भवनको व्यवस्था छ भने अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन हुँदै आएको छ।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयले आधुनिक शैक्षिक पूर्वाधार र व्यावहारिक शिक्षालाई प्राथमिकता दिएको पाइएको छ। दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा विज्ञान, कम्प्युटर इन्जिनियरिङ, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी विषयको पठनपाठन हुन्छ।

विद्यालयमा वातानुकूलित कक्षाकोठा, स्मार्ट बोर्ड, प्रोजेक्टर, विद्यालय बस, स्विमिङ पुल, फुटसल तथा पर्याप्त खेलमैदानको व्यवस्था छ। विद्यार्थी र शिक्षकको विद्युतीय हाजिरीलाई नगरपालिकाले समेत अनुगमन गर्ने गरेको छ।

विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि व्यवहारमा उतारेको छ। विद्यार्थीले बजारमा सैलुन व्यवसाय सञ्चालन गर्ने, वेबसाइट निर्माण गरी बिक्री गर्ने जस्ता सीपमूलक गतिविधिमा सहभागी हुँदै आएका छन्। दुर्गालक्ष्मी खाद्यान्न बैंक स्थापना, खाली समयमा कक्षा व्यवस्थापन, बिदाका दिनमा समेत पाठ्यघण्टा नपुगेका विषयको पठनपाठन र विद्यालयको स्वामित्वमा अत्तरिया बजारमा सपिङ कम्प्लेक्स सञ्चालनजस्ता अभ्यास पनि विद्यालयका विशेषता हुन्। विद्यालयका लेखा अधिकृत रतन कार्कीले विद्यालयका विभिन्न गतिविधिको नियमित मूल्याङ्कन तथा अनुगमन गरिने जानकारी दिए।

यसैगरी, धनगढी उपमहानगरपालिकास्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन्। दुई बिघा क्षेत्रफलमा फैलिएको विद्यालयमा ७२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा र मानविकी समूहको अध्यापन हुँदै आएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर माध्यमिक विद्यालय पनि भ्रमणको अर्को गन्तव्य बनेको थियो। २०३३ सालमा स्थापना भएको उक्त विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विज्ञान, बाली विज्ञान र व्यवस्थापन विषयको पठनपाठन हुने विद्यालयले आगामी दिनमा विद्यार्थी संख्या पाँच हजार पुर्‍याउने लक्ष्य लिएको छ। विद्यालयले यसै वर्षको पुस महिनामा स्वर्ण महोत्सव मनाउने तयारीसमेत गरिरहेको छ। विद्यालयमा ४५ जना सरकारी शिक्षक तथा कर्मचारी कार्यरत छन्।

चारवटै विद्यालयमा आयोजित अन्तरक्रियामा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूले आफ्ना असल शैक्षिक अभ्यास, व्यवस्थापकीय अनुभव र सफलताका पक्षहरू प्रस्तुत गरेका थिए। नवीन औद्योगिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले पनि बुटवलमा अवलम्बन गरिएका शैक्षिक अभ्यास र अनुभवहरू प्रस्तुत गर्दै अन्तरक्रियाको सहजीकरण गरेका थिए।

भ्रमणका क्रममा धनगढी उपमहानगरपालिकाको सभाहलमा बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा उपप्रमुख कन्दकला कुमारी रानाले शिक्षाको क्षेत्रमा बुटवल उपमहानगरपालिकाले देशमै अगुवाइ गरेको भन्दै प्रशंसा गरिन्। बुटवलले अवलम्बन गरेका असल शैक्षिक अभ्यासलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने उल्लेख गर्दै उनले यस किसिमको अन्तरक्रियालाई उपलब्धिमूलक बताइन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलले शिक्षा तथा खेलकुदलगायतका क्षेत्रमा पुर्‍याएको योगदान र नगरपालिकाले अघि सारेका शैक्षिक सुधारका प्रयासबारे धारणा राखेका थिए।

अन्तरक्रियामा धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रबहादुर चन्द, शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायक, विभिन्न शिक्षा अधिकृत, विज्ञ स्रोत शिक्षक तथा बुटवलबाट गएको टोलीका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा बुटवलबाट ५२ जना पुरुष र ३१ जना महिला गरी ८३ जना शिक्षक तथा कर्मचारी सहभागी भएका थिए।

अन्तरविद्यालय भ्रमणको नेतृत्व बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री र वरिष्ठ शिक्षा अधिकृत कमला चुँदालीले गरेका थिए। भ्रमणमा नवीन औद्योगिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद खरेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको सहभागिता थियो।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न विषयका संयोजक र शिक्षकहरूले भ्रमणको व्यवस्थापन र सहजीकरणमा सहयोग गरेका थिए।

नेपालमा विज्ञान विषय प्रवर्द्धन कार्यक्रम लागू भएका र दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयहरूको शैक्षिक अभ्यासलाई नजिकबाट बुझ्ने उद्देश्यले गरिएको भ्रमणले विद्यालयहरूबीच अनुभव आदानप्रदान र शैक्षिक सुधारका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पूर्वाधारसँगै अनुशासन, प्रविधिको प्रयोग, व्यावहारिक शिक्षा, शिक्षकको सक्रियता र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई जोड्नुपर्ने सन्देश भ्रमणले दिएको सहभागीहरूको निष्कर्ष छ।

You may also like