आज गोवर्द्धन पूजा, गोरु र हलीको पूजा गरी मनाइँदै

by समतल अनलाइन
44Shares

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कार्तिक शुक्ल प्रतिपदा। देशभर गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलीको पूजा आराधना गरी गोवर्द्धन पूजा मनाइँदैछ।
यस दिन घरआँगन लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको स्मरणमा यो पर्व मनाउने गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।
बली, गोरु र हलीको पूजा
धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिनुभएको विश्वास छ। यही विश्वासका आधारमा आज बली राजाको पूजा आराधना गर्ने परम्परा रहेको छ। तिहारमा देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन पनि यसैसँग जोडिएको छ।
कृषि कार्यमा वर्षभरि जोतिएर मानव जीवनलाई सहयोग पुर्‍याउने गोरुको पनि आज पूजा गरिन्छ। गोरुलाई भगवान् महादेवको वाहन साँढेका रूपमा समेत सम्मान गर्ने धार्मिक परम्परा छ।
त्यस्तै, खेतीपातीमा गोरु जोतेर श्रम गर्ने हली तथा कृषि कर्ममा संलग्न किसानलाई पनि पूजा गरी मीठा परिकार खुवाउने चलन छ। यसै कारण आजको दिनलाई हली तिहारका रूपमा समेत चिनिन्छ।
गोवर्द्धन पूजाले प्रकृति, कृषि, पशुधन र श्रमको सम्मान गर्नुपर्ने सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ।

You may also like