बुटवल । बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीमा कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै अवचेतन मनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीमा पढाइप्रतिको एकाग्रता, आत्मविश्वास, सकारात्मक सोच, स्मरणशक्ति तथा सिकाइप्रतिको दृष्टिकोण सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
मस्तिष्क तथा सचेतना प्रशिक्षक दीपक अधिकारीले विद्यार्थीको सोच, विश्वास र अवचेतन मनले अध्ययन तथा दैनिक व्यवहारमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए। आफ्ना सोच र मानसिक ढाँचालाई बुझ्न सके पढाइमा ध्यान केन्द्रित गर्न, नकारात्मक सोच व्यवस्थापन गर्न तथा सिकाइप्रति सकारात्मक बानी विकास गर्न सहज हुने विषयमा उनले प्रशिक्षण दिएका थिए।
विद्यालयका प्राचार्य रामराज पोखरेलले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी उनीहरूको मानसिक क्षमता, आत्मविश्वास र व्यक्तित्व विकासमा समेत ध्यान दिनुपर्ने बताए। प्रभावकारी सिकाइका लागि आवश्यक सीप विकास गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको उनले जानकारी दिए।
‘आफ्नो मनलाई प्रशिक्षित गरौँ, जीवनलाई रूपान्तरण गरौँ’ भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षणपछि विद्यार्थीहरूले आफूले सिकेका विषयलाई अध्ययन तथा दैनिक जीवनमा प्रयोग गर्ने तरिकाबारे प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा प्रशिक्षक दीपक अधिकारीलाई विद्यालयका प्राचार्य पोखरेलले प्रशंसापत्रसहित सम्मान गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका माध्यमिक तह संयोजक सुभास भण्डारीले गरेका थिए।

