बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनमगरले देशमै रोजगारीका अवसर सिर्जना गरी युवाको विदेश पलायन रोक्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
नेपाल औषधि व्यवसायी संघ रुपन्देहीको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले युवाहरू विदेश पलायन हुँदा देशको जनसंख्या घट्नुका साथै स्थानीय बजार तथा व्यवसायसमेत कमजोर हुँदै गएको बताए।
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराएर देशमै रोक्ने वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
औषधि व्यवसाय अन्य व्यवसायभन्दा फरक र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री पुनले यसलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने बताए। औषधि व्यवसायमा देखिएका समस्या तथा चुनौतीहरू संकलन गरी मन्त्रालयमा ल्याउन आग्रह गर्दै उनले समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो एक वर्षको अवधिमा देशले विभिन्न परिवर्तनसँगै धेरै पीडा र समस्या भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पुनले विद्यमान चुनौतीहरू सबै पक्षको सहकार्यबाट समाधान गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले खुला सीमाका कारण बजारमा नक्कली औषधि भित्रिने क्रम बढेको भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गर्न सरकारसँग माग गरे।
उनले विपद्, महामारी तथा अन्य कठिन परिस्थितिमा समेत औषधि व्यवसायीहरूले नागरिकलाई औषधि उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि व्यवसायलाई राज्यले थप व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनको भनाइ थियो।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले औषधि व्यवसायी संघजस्ता व्यवस्थित संस्थाका कारण बुटवलको गरिमा र पहिचान थप मजबुत भएको बताए। व्यवसायीहरूले आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिनुपर्ने उनले धारणा राखे।
संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले व्यवसायीहरू चरम समस्यामा परेको अवस्थामा राज्य नै व्यापारीका रूपमा प्रस्तुत हुने गतिविधिले निजी क्षेत्रलाई थप अप्ठ्यारोमा पारेको बताए। व्यवसायीको हक, अधिकार र पेशागत सुरक्षाका लागि सबै व्यवसायी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले संघीय संरचनाअनुसार औषधि व्यवस्था विभागले प्रदेशस्तरीय शाखा व्यवस्थापन गर्न नसक्दा औषधि व्यवसायीहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे। प्रदेश तहमा आवश्यक संरचना र सेवा विस्तार हुन नसक्दा व्यवसायीलाई प्रशासनिक तथा व्यावसायिक काममा कठिनाइ भइरहेको उनले बताए।
व्यावसायिक एकता तथा व्यवसायीको हकहित संरक्षणका लागि संघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै न्यौपानेले समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्ने बताए।
कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम तथा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले औषधिजस्तो नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील व्यवसायलाई राज्यबाट धराशायी बनाउने गतिविधि रोक्नुपर्ने बताएका थिए।
उनीहरूले नागरिकको हकहित र स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर सरकारले नीति निर्माण गर्नुपर्ने भए पनि त्यस्ता नीति उद्योगी तथा व्यवसायीको हकहितसँग बाझिन नहुनेमा जोड दिए।
१५ शय्याको अस्पताल दर्ता गर्ने अधिकार स्थानीय सरकारलाई हुने तर क्लिनिक दर्ता भने प्रदेश सरकारबाट हुने वर्तमान प्रावधान अव्यावहारिक रहेको उनीहरूको भनाइ थियो। संघीय संरचनाअनुसार अधिकार क्षेत्र स्पष्ट गर्दै यस्ता नीतिगत समस्या र प्रशासनिक गाँठो फुकाउन सरकार गम्भीर हुनुपर्ने उनीहरूले आग्रह गरे।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष खड्गप्रसाद बस्तेतले आफ्नो कार्यकालमा भएका गतिविधि तथा संस्थागत विकासका कामबारे जानकारी गराए। उनले व्यवसायीको हकहित संरक्षण तथा संघको संस्थागत विकासका लागि विभिन्न काम गरिएको बताए।
सो अवसरमा उत्कृष्ट व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो। रिटेलतर्फ पहिलो पसल सञ्चालन गर्ने सिंह मेडिकल हलका संस्थापक स्वर्गीय सुद्धितमान सिंहका सुपुत्र डा. रमेशमान सिंह र महेशमान सिंहलाई सम्मान गरिएको थियो।
त्यस्तै, स्वर्गीय खेम पुनबाट सुरु गरिएको होलसेल व्यवसाय खेम इन्टरप्राइजेजका सञ्चालक ओमीकला पुनलाई पनि सम्मान गरिएको थियो।
खुद्रा व्यवसायतर्फ २०४९ सालदेखि निरन्तर कार्यरत जनसेवा मेडिकल हलका सञ्चालक हेमबहादुर चिदीमगरलाई सम्मान गरिएको थियो। संघका सदस्य एकादेव बस्याललाई पनि उत्कृष्ट कार्यसमितिका रूपमा सम्मान गरिएको सम्मान कार्यक्रमका संयोजक बाबुराम भट्टराईले जानकारी दिए।
कार्यक्रममा संघका महासचिव कृष्ण पोखरेलले औषधि व्यवसायमा देखिएका विभिन्न समस्याबारे जानकारी गराउँदै संस्थागत सिफारिसका नाममा औषधिको दुरुपयोग भइरहेको बताए। औषधिको प्रयोग र सिफारिसमा देखिएका विकृति नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागी व्यवसायीहरूले औषधि व्यवसायसँग सम्बन्धित नीति, प्रशासनिक प्रक्रिया, बजार व्यवस्थापन, नक्कली औषधिको नियन्त्रण तथा व्यवसायीको पेशागत सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

