नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा हराएकी नुवाकोटकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो। बाढीपछि लामो समयसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर आठौँ दिनमा गुहेश्वरीमा कुशको शव बनाएर दाहसंस्कारसमेत गरेको थियो।
चन्द्रिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार खोजी गर्दा नभेटिएपछि मन भारी बनाएर परिवारले काजक्रिया गरेको थियो। तर, ११औँ दिनमा सशस्त्र प्रहरीको टोली खोजीका क्रममा उक्त घरमा पुग्दा भित्रबाट आवाज सुनेपछि चन्द्रिका जीवितै रहेको पत्ता लागेको हो।
सशस्त्र प्रहरीको टोलीले घरमा कोही फसेको छ कि भनेर खोजी गर्ने क्रममा आवाज सुनेपछि उनलाई उद्धार गरेको जनाएको छ। बाढी र पहिरोका कारण उक्त तीनतले घरको माथिल्लो तलासम्म माटो तथा अन्य सामग्रीले पुरिएको अवस्थामा चन्द्रिका भेटिएकी थिइन्।
उद्धारपछि चन्द्रिकालाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनीमा रहेको नेपाली सेनाको अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
यसैबीच, चन्द्रिकाका पति आनन्द श्रेष्ठ भने बाढीपछि अझै सम्पर्कविहीन छन्।

