काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री शाहले शनिबार राति फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यमसमेत भएको बताएका हुन्। उनले पीडितहरूको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।’
पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिन खोज्नेहरूलाई अपराधीको संज्ञा दिँदै प्रधानमन्त्री शाहले त्यस्ता व्यक्तिप्रति सरकार निर्मम हुने बताएका छन्। उनले बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनाले देशमा आशा जगाएको बताएका छन्।
उक्त घटनाले खोज तथा उद्धार कार्य अझै निरन्तर भइरहेको सन्देश दिएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिल्लो उमेरका धेरै ज्येष्ठ नागरिकको उद्धार गरिसकेको पनि बताएका छन्। बाढीका कारण ज्येष्ठ नागरिकले भोग्नुपरेको पीडाको चित्रण गर्दै उनले कतिपय वृद्धवृद्धाले आफ्नै ज्यानको परवाह नगरी काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको उल्लेख गरेका छन्।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत बाढीका कारण भाग्न बाध्य भएको उनले बताएका छन्। प्रधानमन्त्री शाहले बाढीले वृद्धवृद्धाका घर, खेतबारी, पशुपंक्षी मात्र नभई कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना बगेको देख्नुपरेको र कतिपयले जीवनसाथीसमेत गुमाएको उल्लेख गरेका छन्। उनका अनुसार बाढीबाट प्रभावित ज्येष्ठ नागरिकका लागि सरकारले अस्थायी शिविर र होल्डिङ सेन्टरमार्फत राहत, स्वास्थ्य सेवा तथा आवश्यक सुविधा उपलब्ध गराइरहेको छ।
नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनीहरूका लागि ह्वीलचियर र वाकरसमेत उपलब्ध गराइएको उनले उल्लेख गरेका छन्। ज्येष्ठ नागरिकमा परेको मानसिक आघात र शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा दिइरहेको पनि प्रधानमन्त्रीले बताएका छन्।
अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकलाई छिटो सुरक्षित बसोबासको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै शाहले भनेका छन्, ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’ भोटेकोशीको बाढीले ज्येष्ठ नागरिकको ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनलाई बगाउन नसकेको प्रधानमन्त्री शाहको भनाइ छ।
उनले ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शक भन्दै सरकारलाई परिवारकै सदस्य ठानेर सल्लाह र मार्गनिर्देशन गर्न आग्रह गरेका छन्। बाढीमा धेरै ज्येष्ठ नागरिकको मृत्यु भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूलाई घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोतका रूपमा स्मरण गरेका छन्। उनले मृतकप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीपछिको उद्धारमा सुरक्षाकर्मीले जोखिम मोलेर काम गरिरहेको भन्दै उनीहरूको प्रशंसा गरेका छन्। बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मी अझै खोज तथा उद्धारमा खटिरहेको उल्लेख गर्दै उनले उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन्।

