पश्चिम नेपाल टायर एण्ड ट्रिटको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, शेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण

by समतल अनलाइन
23Shares

बुटवल। पश्चिम नेपालका ५० जना बस व्यवसायीहरूको साझा लगानीमा स्थापना भएको पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। दीपावलीअन्तर्गत धनतेरसको अवसर पारेर आयोजित कार्यक्रममा शेयर सदस्यहरूलाई १२ प्रतिशत लाभांशसहित तामाको अम्खोरा र मिष्ठान्न वितरण गरिएको छ।

सोही अवसरमा उद्योग वाणिज्य संघ बुटवलका नवनिर्वाचित अध्यक्ष तथा संघका सल्लाहकार नरिश्वर शर्मा पौडेललाई सम्मान गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले बुटवललाई आधुनिक, व्यवस्थित र उद्योगी व्यवसायीमैत्री सहरका रूपमा विकास गर्न यातायात व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले यातायात व्यवसायीसँग सहकार्य गरी पार्किङ व्यवस्थापनलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। समृद्ध मुलुक निर्माणका लागि उद्योग व्यवसायको विकाससँगै भौतिक पूर्वाधारको विकासलाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरूको हकहित संरक्षण र व्यावसायिक समृद्धिलाई केन्द्रमा राखेर टायर एण्ड ट्रिटको स्थापना गरिएको बताउनुभयो। व्यवसायको कारोबार विस्तार गर्दै यातायात क्षेत्रसँग सम्बन्धित अन्य व्यवसायलाई समेत क्रमशः प्रवर्द्धन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

अध्यक्ष खरेलले सहकारीको माध्यमबाट सवारी साधन व्यवस्थापन, दुर्घटना न्यूनीकरण र व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई एकसाथ अघि बढाइएको बताउनुभयो। पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले यात्रुमैत्री यातायात सेवा सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको र समयअनुसार व्यवसायलाई प्रभावकारी बनाउन नयाँ प्रविधि तथा व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा सञ्चालकहरू नारायण घिमिरे, जीवन बन्जाडे, मोहन पीएस, कार्यालय प्रमुख कृष्णप्रसाद भट्टराई तथा भलाई कोषका सचिव बिजेश न्यौपानेलगायतले यातायात व्यवसायका समसामयिक विषयमा धारणा राख्नुभएको थियो।

वक्ताहरूले बसपार्कमा व्यवस्थित पार्किङ, सहज बीमा सुविधा, सहकारीको प्रभावकारिता र यातायात व्यवसायीबीचको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
यातायात व्यवसायीहरूको साझा लगानी र सहकार्यमा स्थापित प्रा.लि.ले व्यवसाय विस्तारसँगै यातायात क्षेत्रका समस्या समाधान तथा व्यवसायीहरूको आर्थिक हित प्रवर्द्धनमा काम गर्दै आएको जनाएको छ।

You may also like

This will close in 0 seconds