सरकारलाई आङ्देम्बेको प्रश्न : सुरुङमा मन्त्रीका आफन्त परेका भए यसरी नै माटो खोस्रिन्थे ?

by समतल अनलाइन
48Shares

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङमा फसेकाहरूको उद्धारमा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले गृहमन्त्रीलगायत सरकारी अधिकारीहरूले सुरुङमार्गमा आफैं माटो खोस्रिने काम गरेको भन्दै प्राविधिक विज्ञको सहयोग लिनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपद्को समयमा सरकार फिल्डमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप लगाए।

‘सरकार सामाजिक सञ्जालमा अल्झियो। समयमा जोखिममा पुग्न सकेन। फिल्डमा भन्दा फेसबुकमा धेरै हल्ला भयो,’ उनले भने।

सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारको ढिलाइप्रति प्रश्न उठाउँदै उनले मन्त्रीका आफन्त त्यहाँ फसेको भए पनि सरकारको व्यवहार यस्तै हुन्थ्यो कि प्राविधिकहरूलाई तत्काल परिचालन गरिन्थ्यो भन्दै प्रश्न गरे। उनले गृहमन्त्री सुधन गुरुङ उद्धारको केन्द्रीय कमान्डमा नबसी आफैं सुरुङ खोतल्न कुदेको कुरामा प्रश्न गरेका हुन्।

‘यदि त्यो सुरुङमा मन्त्रीका आफन्त र परिवारका सदस्य भएको भए मन्त्री त्यसैगरी खोस्रिन जान्थे कि प्राविधिकहरूलाई उतार्थे ?’ उनले प्रश्न गरे।

आङ्देम्बेले २०७२ सालको भूकम्पमा तत्काल उद्धार सुरु गरिएको स्मरण गराउँदै अहिले सात दिन बितिसक्दा पनि सुरुङमा फसेकाको खोजी प्रभावकारी रूपमा हुन नसकेको बताए। उनका अनुसार त्यतिबेला १२ घण्टामै उद्धार सुरु गरिएको थियो र ३४ देशका उद्धारकर्मी नेपाल आएका थिए।

उनले स्थानीय सरकार र सम्बन्धित जलविद्युत् आयोजनाका अधिकारीसँग पर्याप्त समन्वय नगरेको भन्दै सरकारको आलोचना गरे।

‘नजिकको स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजनाका अधिकारीलाई सुरुङमा जान नदिने, तर सात दिनपछि सरकारले हामी सकेनौँ, मान्छे आफैं खोज भनिँदैछ,’ उनले भने।

आङ्देम्बेले सुरुङमा फसेकाहरूको अवस्थालाई लिएर सरकारले जिम्मेवारी लिनुपर्ने बताए। ‘यो मृत्यु हो कि हत्या हो ? सरकारले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे।

परिवारका सदस्य तथा आफन्तले खोज तथा उद्धारमा चासो राख्दा उनीहरूमाथि गालीगलौज गर्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए। विपद्को समयमा नागरिकलाई आतंकित बनाउने होइन, आश्वस्त पार्ने काम सरकारको भएको उनको भनाइ छ।

उनले सरकारलाई संघीय नेतृत्वमा सबै तह, निजी क्षेत्र र नागरिकसँग समन्वय गरेर उद्धार तथा राहतमा जुट्न आग्रह गरे।

‘स्थानीय सरकार विपद् जोखिमको अग्रभागमा छ। निजी क्षेत्र पनि साथमा छ। नागरिक पंक्ति आफ्नो गाँस काटेर सघाउन तयार छ। तर सरकार भने आकाश र फेसबुकमा रमाएको छ,’ आङ्देम्बेले भने।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा आफ्नो भनाइ राखेर सांसदका प्रश्न र सुझाव नसुनी बैठकबाट बाहिरिएको भन्दै पनि उनले असन्तुष्टि जनाए। प्रधानमन्त्रीले सदनका सुझाव सुन्नुपर्ने भन्दै उनले सरकारलाई विपद्को संवेदनशीलता बुझेर काम गर्न आग्रह गरे।

You may also like