बुटवलका गृहिणी महिलालाई स्वरोजगार बन्न ११ प्रकारका तालिम, ३२० जनाले पाउने अवसर

by समतल अनलाइन
45Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले गृहिणी महिलालाई सीप सिकाएर स्वरोजगार तथा रोजगारीसँग जोड्ने उद्देश्यले ११ प्रकारका स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ‘नगर प्रमुख गृहिणी महिला स्वरोजगार तालिम कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

उपमहानगरपालिकाले भदौ १६ गते सूचना जारी गर्दै विभिन्न ११ वटा तालिममा गरी कुल ३२० जना महिलालाई सहभागी गराइने जनाएको छ । कार्यक्रममार्फत महिलालाई सीप प्रदान गरी आफ्नै व्यवसाय सञ्चालन गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

उपमहानगरपालिकाका अनुसार जुट कपडाको झोला बनाउने तालिममा ४० जना, अचार बनाउने तालिममा २० जना, केक तथा बेकरी बनाउने तालिममा ४० जना, जुत्ता–चप्पल बनाउने तालिममा ४० जना र चुरापोते बनाउने तालिममा २० जनाले अवसर पाउनेछन् ।

त्यस्तै डल्लो साबुन तथा सर्फ बनाउने तालिममा ४० जना, थारु समुदायको भेषभूषा तयार गर्ने तालिममा २० जना, फिनीया रोटी, सेल रोटी तथा अन्य रोटीका परिकार बनाउने तालिममा २० जना, शुभ विवाह माला, साइपाटा तथा श्रृंगार सामग्री बनाउने तालिममा ४० जना, च्याउ खेतीसम्बन्धी तालिममा २० जना र स्वीटर बनाउने तालिममा २० जना महिलालाई सहभागी गराइनेछ ।

तालिमको अवधि भने विषयअनुसार फरक–फरक तोकिएको छ । जुटको झोला, अचार, केक तथा बेकरी, चुरापोते, साबुन–सर्फ, माला तथा श्रृंगार सामग्री र च्याउ खेतीसम्बन्धी तालिम १५ दिनको हुनेछन् । जुत्ता–चप्पल बनाउने तालिम एक महिना, थारु समुदायको भेषभूषा तयार गर्ने तालिम ४५ दिन र स्वीटर बनाउने तालिम दुई महिनाको हुनेछ । फिनीया रोटी, सेल रोटी तथा अन्य रोटीका परिकार बनाउने तालिम भने ७ दिनको हुने उपमहानगरपालिकाले जनाएको छ ।

अधिकांश तालिमका लागि न्यूनतम योग्यता साक्षर तोकिएको छ । थारु समुदायको भेषभूषा तयार गर्ने तालिमका लागि भने सूचनामा ‘शर्तअनुसार’ योग्यता उल्लेख गरिएको छ ।

तालिममा सहभागी हुन इच्छुक गृहिणी महिलाले ‘नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन ऐन, २०८१’ को दफा ९ को उपदफा (१) (क) तथा अनुसूची–१ बमोजिमको ढाँचामा आवेदन दिनुपर्नेछ । आवेदनसँग आवश्यक कागजातसमेत संलग्न गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

इच्छुक महिलाले सम्बन्धित वडा कार्यालयमा आवेदन बुझाउनुपर्नेछ । आवेदन फाराम बुटवल उपमहानगरपालिकाको वेबसाइट, सम्बन्धित वडा कार्यालय तथा बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने भएकाले इच्छुक महिलालाई समयमै आवेदन दिन उपमहानगरपालिकाले आग्रह गरेको छ । तालिमको छनोट प्रक्रिया, आवश्यक कागजात तथा सम्बन्धित तालिमका थप शर्तबारे जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा बुटवल उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

You may also like