धादिङ । त्रिशूली नदीमा बाढीको बहाव बढ्दा धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा चार वटा घर बगेका छन्।
आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदी हुँदै त्रिशूलीमा बाढीको बहाव बढेपछि तटीय क्षेत्रमा रहेका चार घर बगेको गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए।
उनका अनुसार स्थानीय कर्णबहादुर मगरको पक्की घर तथा रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलका ब्लकले बनेका घर बाढीले बगाएको हो। ती घरहरू यसअघि बुधबार आएको बाढीबाट समेत क्षतिग्रस्त भएका थिए।
बाढीको बहाव बढेसँगै सोही क्षेत्रमा विष्णुबहादुर मगरको घर पनि जोखिममा परेको छ। नदी तटीय क्षेत्रमा रहेका रामशरण राई र श्यामलाल श्रेष्ठका घरसमेत जोखिममा रहेको वडाध्यक्ष अधिकारीले बताए।
त्रिशूली नदीले गल्छीको बेल्खु क्षेत्रमा सडकतर्फ समेत कटान गरिरहेको छ। जोखिम बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा क्षेत्रमा भोटेकोशी नदीको बहाव बढेपछि नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
रसुवामा आइतबार बिहान बाढीको ठूलो आवाज सुनिएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताएका छन्। भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदी किनारका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढेको छ।

