बाढीले बगाएर चितवन पुर्याएकामध्ये पहिचान हुन नसकेका शवहरू शनिबार गाडिएका छन्।जिल्ला प्रशासन कार्यालयले बैठक बसेर निर्णय नै गरी पहिचान हुन नसकेका शवहरू शनिबार देवघाटको जंगलमा गाडेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बेलुकीसम्म ९६ शव गाडिएका छन्।बाँकी शवहरू गाड्ने काम आज पुनः जारी रहने चितवनका इन्स्पेक्टर अनिल थापाले जानकारी दिए।
‘हिँजो ९६ वटा शवको व्यवस्थापन भएको छ। बाँकी शव व्यवस्थापनको काम आज हुन्छ,’ उनले भने।चितवनमा शनिबारसम्म २५९ जनाको शव फेला परेको छ। तीमध्ये ९ जनाको शव आफन्तले पहिचान गरी बुझिलिएका छन्।
अन्य शवहरू पहिचान भएका छैनन्।शव राख्ने चिस्यान केन्द्र नहुँदा सडेगलेर महामारीको जोखिम बढ्ने भएपछि चितवन प्रशासनले गाड्ने निर्णय गरेको थियो।
प्रशासनले शव अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पछि पहिचान हुन पनि सहज हुने ढंगले गाडिएको जनाएको छ।
गाड्नुअघि सबै शवका डिएनए नमुना लिइएको थियो। त्यसपछि शवमा नष्ट नहुने किसिमिको संकेत नम्बरले अंकित गरिएको छ। आफन्तहरूको डिएनए मिलेपछि उनीहरूले संकेत नम्बर हेर्न सकुन् भनेर शव पुरिसकेपछि बाहिरी भागमा पनि ती संकेत नम्बर राखिएको छ।

