काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त निर्णयप्रति नेपाल सरकारका तर्फबाट हार्दिक आभार तथा स्वागत व्यक्त गरेको छ। मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा १११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरिएको हो।
आममाफी प्राप्त गरेका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्नेछन्।
परराष्ट्र मन्त्रालयले आममाफीको निर्णयलाई नेपाल–यूएईबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिएको जनाएको छ। साथै आवश्यक कानुनी प्रक्रिया पूरा गरी आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउने विषयमा नेपाली दूतावासले सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

