लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीमा नयाँ नेतृत्व

by समतल अनलाइन
49Shares

बुटवल। लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले लियो वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको अध्यक्षमा लियो लक्ष्मण खनाल चयन हुनुभएको छ भने उपाध्यक्षको जिम्मेवारी लियो कबिराज भुसालले सम्हाल्नुहुने भएको छ।

नवनिर्वाचित कार्यसमितिमा द्वितीय उपाध्यक्षमा खिम थापा, सचिवमा कुशल पाण्डे, कोषाध्यक्षमा विशाल खनाल, लायन्स को-अर्डिनेटरमा मनोज पाण्डे तथा मेम्बरसिप चेयरपर्सनमा अरुना पछाई चयन हुनुभएको छ।

नयाँ नेतृत्वले आगामी कार्यकालमा शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा नेतृत्व विकास तथा मानवीय सेवाका कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष लक्ष्मण खनालले क्लबलाई सेवामुखी गतिविधिमा अझ सक्रिय बनाउँदै समुदायसँग प्रत्यक्ष जोडिने अभियान सञ्चालन गरिने बताउनुभयो।

उपाध्यक्ष कबिराज भुसालका अनुसार क्लबका सामाजिक तथा सेवामूलक कार्यक्रमलाई बुटवलमा मात्र सीमित नराखी अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लासम्म विस्तार गर्ने योजना रहेको छ। स्थानीय तह, विभिन्न सामाजिक संघसंस्था तथा समुदायसँग सहकार्य गर्दै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वृक्षारोपण, सरसफाइ, रक्तदान लगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

क्लबका पदाधिकारीहरूले नयाँ कार्यसमितिले “सेवा, नेतृत्व र मित्रता” को मूल्यमान्यतालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। युवालाई सेवामार्फत नेतृत्व विकासतर्फ प्रेरित गर्दै लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीलाई अझ सशक्त र प्रभावशाली सामाजिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य पनि कार्यसमितिले लिएको छ।

यस अवसरमा क्लबका पूर्व अध्यक्षहरूले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबको एकता, गरिमा र सेवाभावलाई अझ उच्च स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

You may also like