विप्लवको पार्टीमा पहिरो, ३८ नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा

by समतल अनलाइन
37Shares

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा पार्टी छोड्ने क्रम सुरु भएको छ , पार्टीको बलियो प्रभाव क्षेत्र मानिएको कास्की जिल्लामा पार्टीका करिब चार दर्जन नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

पार्टीभित्रको बढ्दो आन्तरिक किचलो, नेतृत्वको कार्यशैली र विचारमा देखिएको अस्पष्टताप्रति असन्तुष्टि जनाउँदै कास्की कार्यक्षेत्र रहेका जिम्मेवार नेताहरूले यस्तो निर्णय लिएका हुन्। सचिवालय सदस्य उमा भुजेल ‘सिलु’ र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’ माथि नेतृत्वले गरेको कारबाहीलाई उनीहरूले दमनकारी कार्यशैलीको पराकाष्ठा भनेका छन्।

राजीनामा दिनेहरूमा केन्द्रीय प्रतिनिधि गौमती गुरुङ, खुशीमान गुरुङ, दलित आयोगका पूर्व सदस्य तथा जिल्ला सेक्रेटरी सन्तोष परियार, केन्द्रीय सचिवालय तथा सूचना प्रविधि विभागका उपप्रमुख युवराज थापा, जिल्ला सचिवालय सदस्य कमल खड्का, जीवन प्रदेश संयोजक रत्नबहादुर कार्कीलगायत ३८ जना रहेका छन्। उनीहरूले आ(आफ्नो नाम, पद र हस्ताक्षरसहित पार्टीको जिम्मेवारी त्यागेको जनाएका छन्।

नेतृत्वले फरक विचार राख्नेहरूलाई पाखा लगाउने र वाम आन्दोलनको एकताका लागि भइरहेको बहसलाई बेवास्ता गरेको उनीहरूको मुख्य आरोप छ। पार्टी परित्याग गर्दै उनीहरुले विज्ञप्तिमा भनेका छन्, नेतृत्वको कार्यशैलीप्रति निकै आक्रामक छ। उक्त कागजातमा भनिएको छ, ‘पार्टीमा एकता र पुनर्गठनको बहस गर्नेलाई पूर्वाग्रहपूर्ण ढङ्गबाट हेर्ने र बहसबाट भाग्ने गतिविधि चलिरहेको छ। त्यसैले वाम आन्दोलनको एकता र पुनर्गठनको विकल्प नरहेको निष्कर्षसहित आजैको मितिदेखि कास्की जिल्लामा कार्यक्षेत्र रहेका हामीहरू पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दछौँ।’

You may also like