बुटवल, असार १२ – लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत सुरक्षाका लागि नवप्रवर्तन प्रतियोगिता (ह्याकाथन), शान्ति पदयात्रा तथा सामुदायिक जनचेतना कार्यक्रम आयोजना गरिनेछ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्रीका अनुसार बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ नामक नवप्रवर्तन प्रतियोगिता आयोजना गरिनेछ। उक्त कार्यक्रममा प्रविधिप्रति रुचि राख्ने युवा, विद्यार्थी, सफ्टवेयर विकासकर्ता, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूको सहभागिता रहनेछ।
प्रहरीका अनुसार आधुनिक सुरक्षा चुनौतीहरूलाई परम्परागत उपायबाट मात्र समाधान गर्न कठिन हुँदै गएको सन्दर्भमा युवाहरूलाई प्रविधिमार्फत सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता केवल प्रतिस्पर्धा नभई सार्वजनिक सुरक्षासँग सम्बन्धित समस्याको समाधान खोज्ने साझा प्रयास हुने प्रहरीको विश्वास छ।
त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा आयोजना गरिनेछ। पदयात्रामार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ। कार्यक्रममा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ।
डिआइजी खत्रीले शान्ति कायम राख्ने दायित्व केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको सन्देश प्रवाह गर्नु पदयात्राको मुख्य उद्देश्य रहेको बताए।
यसैबीच, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा युवा, विद्यार्थी, अभिभावक तथा सर्वसाधारण नागरिकसँग प्रत्यक्ष संवाद गर्दै साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण तथा डिजिटल सुरक्षाजस्ता समसामयिक विषयमा सचेतना अभिवृद्धि गरिनेछ।
प्रहरीले समाजका विभिन्न वर्गलाई एउटै मञ्चमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार कार्यक्रमहरू फरक प्रकृति र स्थानमा आयोजना भए पनि तिनको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार तथा प्रविधिमैत्री समाज निर्माण गर्नु हो। प्रविधि, शान्ति, सामाजिक सद्भाव र नागरिक सहभागितालाई एकै सूत्रमा बाँध्दै सार्वजनिक सुरक्षालाई नयाँ ढङ्गले प्रस्तुत गर्ने प्रयासस्वरूप यी कार्यक्रम सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ।




