डिजिटल बुटवलदेखि स्पोर्ट्स भिलेजसम्म: उपमहानगरका नयाँ योजना सार्वजनिक

by समतल अनलाइन
20Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगार, सूचना प्रविधि, खेलकुद, सुशासन तथा आर्थिक विकासलाई प्राथमिकतामा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो। उपमहानगरपालिकाले “समानता, स्वाभिमान र अवसर– बस्नयोग्य बुटवल शहर” को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार तथा सूचना प्रविधिमा आधारित विकासलाई प्राथमिकता दिएको छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने तथा बुटवललाई आर्थिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य नगरको छ।

शिक्षामा विशेष प्राथमिकता

उपमहानगरपालिकाले “शिक्षामा सबल, बुटवल अब्बल” अभियानलाई निरन्तरता दिँदै विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारमा जोड दिएको छ। सबै आधारभूत तथा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला स्थापना, ई–लर्निङ पोर्टल सञ्चालन तथा सामुदायिक विद्यालयलाई क्रमशः पूर्ण प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

विद्यार्थीलाई सीप र रोजगारसँग जोड्न विभिन्न साझेदार संस्थासँग सहकार्य गरिनेछ। “छोरी पढाऔँ, समाज बनाऔँ” अभियानमार्फत छात्राहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षित गरिने नीति लिइएको छ।

विपन्न, असहाय तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिनेछ। दलित समुदायका विद्यार्थीका लागि छात्रावास निर्माण तथा बेसहारा र अनाथ बालबालिकाका लागि आवासीय शिक्षाको व्यवस्था मिलाइनेछ।

छात्रवृत्तिदेखि परीक्षा व्यवस्थापनसम्म डिजिटल प्रणाली

संस्थागत विद्यालयहरूले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको परीक्षा, व्यवस्थापन तथा वितरण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइने भएको छ। नगरभित्रका विद्यालयहरूको परीक्षा एकैसाथ सञ्चालन गरी उपमहानगरपालिकाबाट नतिजा प्रकाशन गर्ने व्यवस्था पनि गरिनेछ।

बालमैत्री, छात्रामैत्री तथा अपाङ्गमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दिइएको छ। अटिजमसम्बन्धी विद्यालय स्थापना गर्ने तथा फरक क्षमता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यकका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरिने नीति समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रमा ठूला योजना

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले “बा–आमासँग नगरप्रमुख कार्यक्रम” लाई थप व्यवस्थित बनाउने भएको छ। जेष्ठ नागरिकका लागि वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण तथा थेरापी सेवा उपलब्ध गराइनेछ।

सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई थप सुदृढ गर्दै २०० शय्यामा विस्तार गर्ने, प्यारामेडिकल शिक्षा विस्तार गर्ने तथा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ।

बुटवल–११ मा आधुनिक आँखा अस्पताल निर्माण गर्ने तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा १०० शय्याको सुविधासम्पन्न ट्रमा अस्पताल स्थापना गर्ने घोषणा गरिएको छ।

महिला, बालबालिका र विपन्न वर्ग लक्षित कार्यक्रम

महिलाका लागि पाठेघर तथा स्तन क्यान्सर परीक्षण, भिडियो एक्सरे तथा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। एचआईभी संक्रमित तथा दीर्घरोगी विपन्न नागरिकलाई आर्थिक सहयोग निरन्तर उपलब्ध गराइनेछ।

पूर्णखोप सुनिश्चितता, कुपोषण न्यूनीकरण, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा तथा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गरिने नीति पनि समेटिएको छ।

डेंगु, चिकनगुनिया तथा पानीजन्य रोग नियन्त्रणका लागि “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन गरिनेछ।

नाइट मार्केट र मोबाइल रेष्टुरेन्टको अवधारणा

राजस्व वृद्धि र शहरी व्यवस्थापनलाई प्राथमिकता दिँदै नगरले व्यवसाय दर्तालाई अनिवार्य बनाउने भएको छ। ठेला व्यवसायलाई व्यवस्थित गर्दै रात्रीकालीन बजार (नाइट मार्केट) सञ्चालन गर्ने योजना ल्याइएको छ।

पुराना बसलाई मर्मत गरी मोबाइल रेष्टुरेन्टका रूपमा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। व्यवसाय सञ्चालनका लागि अनुमति प्रणाली लागू गरिनेछ।

बस टर्मिनल र सडक व्यवस्थापनमा सुधार

लुम्बिनी बस टर्मिनललाई यात्रुमैत्री बनाउँदै शुद्ध खानेपानी, विद्युत सेवा, निःशुल्क वाइफाइ, विश्रामस्थल तथा आधुनिक शौचालयको व्यवस्था गरिनेछ।

सडक पेटी अतिक्रमण नियन्त्रण, पार्किङ व्यवस्थापन तथा पैदलयात्रीमैत्री संरचना निर्माणलाई प्राथमिकता दिइएको छ। अव्यवस्थित पार्किङ र अतिक्रमणविरुद्ध कडा कारबाही गरिने नीति लिइएको छ।

३०० विद्यार्थीलाई रोजगार, युवालाई कर छुट

‘पढाइसँगै रोजगार’ कार्यक्रमअन्तर्गत ३०० जना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई तीन महिनासम्म रोजगार उपलब्ध गराइनेछ।

३५ वर्षमुनिका युवाले व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। यसले स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सुशासन र आर्थिक अनुशासनमा जोड

उपमहानगरपालिकाले “बेरुजुको अन्त्य, सुशासनमा प्रतिबद्धता” भन्ने नारासहित आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेको छ। बेरुजु भएका व्यक्ति तथा निकायको नाम सार्वजनिक गर्ने नीति लिइएको छ।

स्थानीय सञ्चारमाध्यम तथा उपमहानगरपालिकाको वेबसाइटमार्फत बेरुजुको विवरण सार्वजनिक गरिनेछ। आन्तरिक लेखा परीक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिने भएको छ।

डिजिटल बुटवल निर्माणको लक्ष्य

उपमहानगरपालिकाले ‘डिजिटल पालिका’ र ‘ई–पालिका’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ। अधिकांश सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सम्पूर्ण अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिने, साइबर सुरक्षा सुदृढ बनाइने तथा अनलाइन गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइनेछ।

सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका लागि नगरस्तरीय एआई प्रतियोगिता आयोजना गरिने भएको छ।

खेल पर्यटनको केन्द्र बनाउने लक्ष्य

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले मेयर कप फुटबल तथा उपमेयर कप भलिबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ।

बुटवल–१३ को जबईमा राष्ट्रियस्तरको फुटबल मैदान तथा बुटवल–१६ को डहरगाउँमा क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाइनेछ।

नगरले राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता, लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता सञ्चालन गर्ने तथा खो–खो, डण्डीबियो, तारा हान्ने खेल र डोरी तान्ने खेलजस्ता परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिएको छ।

दीर्घकालीन रूपमा ‘स्पोर्ट्स भिलेज’ स्थापना गरी बुटवललाई खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत नगरले अघि सारेको छ।

You may also like

This will close in 0 seconds