रोट्रयाक्ट युथ आइकनका सहभागी मेयरसँग मर्निङ वाकमा

by समतल अनलाइन
56Shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा रोट्रयाक्ट युथ आइकन–२०८३ अन्तर्गत आइतबार बिहान ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, फिजिसियन डा. हरि पन्थी, प्रमुख प्रशिक्षक रमेश अर्याललगायतको सहभागितामा नयाँ बसपार्कदेखि हिलपार्कसम्म मर्निङ वाक गरिएको थियो।

युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आविष्कार खनालले जानकारी दिए। मर्निङ वाकका क्रममा युथ आइकनका सहभागीहरूले नगरप्रमुख तथा चिकित्सकसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना जिज्ञासा, विचार र प्रश्नहरू राख्ने अवसर पाएका थिए।

नगरप्रमुख खेलराज पाण्डेयले हिलपार्क मर्निङ वाकका लागि उपयुक्त स्थल रहेको उल्लेख गर्दै बुटवलमा हिलपार्कसहित लक्ष्मीनगर, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस नजिकको मैदान, बेलबास सामुदायिक भवनलगायत १३ स्थानमा मर्निङ वाक तथा योग केन्द्र सञ्चालनमा रहेको जानकारी दिए। यस्ता गतिविधिले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

पाण्डेयले पछिल्लो समय बुटवल क्षेत्रमा क्यान्सर, मृगौला फेल लगायतका नसर्ने रोगका बिरामीहरू उपचारका लागि दैनिक रूपमा सिफारिस लिन आउने गरेको उल्लेख गर्दै रोग लाग्नुअघि नै सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “बिहानको एक घण्टाको अभ्यासले स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सक्छ। अस्पतालमा नियमित औषधि सेवन गर्ने कि बिहान उठेर केही समय हिँड्दै स्वस्थ जीवनशैली अपनाउने भन्ने निर्णय व्यक्तिको आफ्नै हातमा हुन्छ।”

कार्यक्रममा फिजिसियन डा. हरि पन्थीले मर्निङ वाक सबै उमेर समूहका लागि उपयुक्त व्यायाम भएको बताउँदै नियमित शारीरिक गतिविधिले नसर्ने रोगहरूको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनका अनुसार नेपालमा विगतमा झाडापखाला, ज्वरो र मलेरिया जस्ता सरुवा रोगका कारण मृत्यु हुने दर बढी थियो भने अहिले नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गएको छ। “दैनिक कम्तीमा ३० मिनेट वा हप्तामा १५० मिनेटसम्म मुटुको धड्कन बढ्ने गरी हिँड्दा मस्तिष्कघात र हृदयाघातको जोखिम १० देखि १५ प्रतिशतसम्म घटाउन सकिन्छ। यसले मधुमेह र उच्च रक्तचापका बिरामीलाई समेत फाइदा पुर्‍याउँछ,” उनले बताए।

डा. पन्थीका अनुसार बिहानको स्वच्छ वातावरणमा गरिने मर्निङ वाकले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ।

प्रमुख प्रशिक्षक रमेश अर्यालले नियमित व्यायामलाई दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिँदै स्वस्थ जीवनका लागि मर्निङ वाक प्रभावकारी अभ्यास भएको बताए।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे, पूर्वअध्यक्ष जीवनप्रसाद अधिकारी, बालकृष्ण पाण्डेलगायत क्लबका पदाधिकारी, बोर्ड अफ डाइरेक्टर्स तथा सदस्यहरूको सहभागिता रहेको थियो।

रोट्रयाक्ट युथ आइकन–२०८३ अन्तर्गत पहिलो चरणको अडिसनबाट २० जना प्रतियोगी छनोट भइसकेका छन्। तीमध्येबाट उत्कृष्ट ५ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन्।

प्रतियोगिताको फाइनल आगामी जेठ ३० गते आयोजना गरिनेछ। विजेताले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुने प्रतियोगीले १५ हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्लबका सचिव केशव पौडेलले जानकारी दिए।

मर्निङ वाक कार्यक्रमपछि दिनभर प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो। दीप बोर्डिङ स्कुलमा आयोजित उक्त सत्रमा राजेन्द्र लम्साल, रमेश अर्याललगायत प्रशिक्षकहरूले प्रतियोगीहरूलाई विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

You may also like

This will close in 0 seconds