बुटवल। रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ बकुलीमा टिपरहरूको तीव्र गति र लापरवाहीपूर्ण सञ्चालनविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।
स्थानीयका अनुसार नदीजन्य पदार्थ ओसारपसार गरिरहेको एक टिपरले तीव्र गतिमा ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार एक स्थानीयलाई जोखिममा पारेको थियो। सम्भावित दुर्घटनाबाट जोगिन मोटरसाइकल चालक सडक छेउको कान्लातर्फ हटेर सुरक्षित हुन सफल भएका थिए।
घटनापछि आक्रोशित स्थानीयवासीले उक्त टिपरलाई रोकेर विरोध जनाएका थिए। उनीहरूले बस्ती क्षेत्रमा टिपरहरू अत्यधिक गतिमा सञ्चालन हुने गरेको, धुलोधुवाँ र प्रदूषण बढेको तथा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै तत्काल नियन्त्रण र प्रभावकारी व्यवस्थापनको माग गरेका छन्।
विरोधका कारण केही समय सडक अवरुद्ध भएको थियो। रोकिएका टिपरहरू पुनः सञ्चालन गराउने विषयमा स्थानीयवासी र प्रहरीबीच सामान्य विवादसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीयले बस्ती क्षेत्रमा टिपर सञ्चालनका लागि निश्चित समय निर्धारण गर्न, गति नियन्त्रणका उपाय लागू गर्न तथा सडक सुरक्षासम्बन्धी आवश्यक मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएको भन्दै उनीहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
घटनापछि प्रहरीले सम्बन्धित टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। चालकलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य बनेको र हाल टिपरहरूको आवागमन पुनः सञ्चालनमा आएको स्थानीयवासीले बताएका छन्।
स्थानीयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन नियमित अनुगमन, प्रभावकारी नियमन तथा कानुनी कारबाहीको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।



