लुम्बिनीमा कांग्रेसको नीति तथा प्रशिक्षण कार्यशाला, गगन–विश्वप्रकाश सहभागी हुने

by समतल अनलाइन
76Shares

बुटवल । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण तथा कार्यशाला गोष्ठी जेठ १८ र १९ गते आयोजना गर्ने भएको छ। कार्यक्रमबारे जानकारी दिन आइतबार मणिग्रामस्थित विश्राम वाटिकामा पत्रकार सम्मेलन गरिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले सातै प्रदेशमा सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशमा जेठ १८ र १९ गते प्रशिक्षण सञ्चालन गर्न लागिएको बताए। अन्य छ प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र लुम्बिनी अन्तिम प्रदेशका रूपमा रहेको उनले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समितिका पदाधिकारी तथा पार्टी नेतृत्वको सहभागितामा प्रशिक्षण सञ्चालन हुनेछ। प्रशिक्षणमा जनप्रतिनिधिहरूले विगत चार वर्षको कार्यकालका अनुभव, चुनौती र सफल अभ्यासहरूबारे छलफल गरिने जानकारी दिए।

उनका अनुसार कार्यक्रममा सहभागीहरूलाई छ वटा समूहमा विभाजन गरी आर्थिक नीति, पूर्वाधार विकास, सामाजिक क्षेत्र, बजेट कार्यान्वयन, सुकुम्बासी समस्या, स्थानीय तहको सीमा तथा वर्गीकरणलगायत विषयमा समूहगत छलफल गर्दै छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर लुम्बिनी संकल्प जारी गर्ने तयारी गरिएको जानकारी दिए।

त्यसैगरी पत्रकार सम्मेलनमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश उपसमितिका संयोजक भुवन श्रेष्ठले प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

त्यसैगरी नेपाली काङ्ग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले प्रशिक्षणबाट स्थानीय तह सञ्चालनका क्रममा देखिएका नीतिगत, प्रशासनिक र विकाससम्बन्धी विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रशिक्षणमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, जिल्ला सभापति, क्षेत्रीय सभापतिलगायत नेताहरूको सहभागिता रहने जनाइएको छ।

You may also like