नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन आह्वान गरेको छ। राजदूतावासले आज (बुधबार) जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल, नेपाली आतिथ्यता र विविध पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गर्दै भारतीय बजारमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दूतावासले यो कार्यक्रम ल्याएको हो। यस भ्रमणको मुख्य लक्ष्य नेपाललाई भारतीय पर्यटकहरूका लागि नजिकको, सुलभ र स्वागतयोग्य गन्तव्यका रूपमा प्रस्तुत गर्नुका साथै नेपालका हिमाल, तालतलैया, चाडपर्व, परिकार र आध्यात्मिक गन्तव्यहरूलाई विशेष रूपमा उजागर गर्ने आधिकारिक डिजिटल सामग्री तयार पार्नु रहेको छ।
यस कार्यक्रममा सहभागी हुनका लागि आवेदकहरू भारतीय नागरिक वा भारतमा आधारित डिजिटल कन्टेन्ट क्रिएटर हुनुपर्नेछ भने उनीहरूको युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स वा अन्य डिजिटल प्लेटफर्महरूमा सक्रिय उपस्थिति हुनुपर्नेछ। विशेषगरी यात्रा, संस्कृति, अध्यात्म, जीवनशैली, साहसिक पर्यटन, स्वास्थ्य वा पर्यटनसम्बन्धी सामग्री निर्माण गरिरहेका र भारतीय पर्यटकहरू माझ बलियो आकर्षण भएका क्रिएटरहरूलाई प्राथमिकता दिइनेछ।
छनोट भएका सहभागीहरूले आफ्नो नेपाल भ्रमणको अनुभवमा आधारित रहेर ट्राभल भ्लग, रील्स, सर्ट्स, पोडकास्ट वा पोस्टहरू निर्माण गरी प्रकाशन गर्नुपर्नेछ, जसमा भारतीय आगन्तुकहरूका लागि उपयोगी व्यावहारिक यात्रा जानकारी र नेपाल भ्रमण गर्न प्रेरित गर्ने कम्तीमा एउटा प्रशंसापत्र समेटिएको हुनुपर्नेछ। आवेदकहरूको सामग्रीको सान्दर्भिकता, अघिल्ला कामहरूको गुणस्तर, दर्शक संख्या, रचनात्मकता र अंग्रेजी, हिन्दी वा भारतीय क्षेत्रीय भाषाहरूमा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने क्षमताका आधारमा प्रतिभा छनोट गरिनेछ।
इच्छुक आवेदकहरूले आफ्नो पूरा नाम, राष्ट्रियता, सम्पर्क नम्बर, सामाजिक सञ्जालका लिङ्कहरू, फलोअर्सको विवरण, विगतका कामको नमूना, नेपाल भ्रमणमा सहभागी हुन चाहनुको कारण र भारतीय दर्शकमाझ नेपालको प्रवर्द्धन गर्ने आफ्ना योजनाहरू खुलाएर आवेदन दिनुपर्नेछ। यो आवेदन आगामी ३० मे २०२६ भित्र दूतावासको मुख्य इमेल [email protected] मा र बोदार्थको रूपमा [email protected] मा पठाइसक्नुपर्नेछ।
आवेदन दिँदा इमेलको विषय (Subject) मा ‘Application for Nepal Familiarization Trip for Influencers’ लेख्नुपर्ने दूतावासले जनाएको छ। छनोट भएका सहभागीहरूलाई यात्राको कार्यतालिका, मिति र अन्य व्यवस्थापकीय विवरणहरू पछि जानकारी गराइनेछ भने कार्यक्रमको आवश्यकता र उपयुक्तताका आधारमा आवेदन स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार दूतावासमा सुरक्षित रहने सूचनामा उल्लेख छ।








