रुपन्देही–२ मा कांग्रेस उम्मेदवार पौडेलको घरदैलो तीव्र, सहकारी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

by समतल अनलाइन
73Shares

बुटवल।प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ । चुनाव नजिकिँदै जाँदा रुपन्देहीमा चुनावी गतिविधि समेत तीव्र पारिएको छ । उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट र उनीहरुका गुनासा,सुझाव,सल्लाह र समस्याहरु सुन्ने र समस्या समाधानमा प्राथमिकता दिएका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक तर्फकी उम्मेदवार रिता सेन ओलीले बुधबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।

बिहान करिब ७ बजेदेखि सुरु भएको घरदैलो कार्यक्रम बुटवल उपमहानगरपालिका–११ का विभिन्न बस्ती तथा टोलटोलमा केन्द्रित रहेको भयो। अभियानका क्रममा माथिल्लो मजुवा,मजुवा, सिरानगाउँ, धुर्वनगर, युद्धनगर, दुर्गानगर, न्यु दुर्गानगर र नहरपुर,बुद्ध नगरलगायतका क्षेत्रमा पुगेर उम्मेदवारहरूले मतदातासँग भेटघाट गरेर कुराकानी समेत गरेका छन् ।

सहकारी पीडितको न्यायका लागि पौडेलको प्रतिबद्धता ः

घरदैलोका क्रममा पत्रकारसंग बोल्दै उम्मेदवार पौडेलले सहकारी पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा, आक्रोश र निराशालाई गहिरो रूपमा अनुभूति गरिरहेको बताए । उनले सहकारीमा विश्वास गरेर आफ्नो पसिना र परिश्रमको कमाइ बचत गर्नु भएका धेरै जना केही गलत र गैरजिम्मेवार व्यक्तिको कारण अन्यायको मारमा परेको आफुलाइ जानकारी रहेको बताए । पौडेलले यो केवल आर्थिक क्षति मात्र नभएर यो पिडितहरुको विश्वासमाथिको चोट समेत भएको बताए ।

‘सहकारी पीडितको न्यायका लागि मेरो प्रतिबद्धता केवल चुनावी वाचा मात्र नभएर यो नैतिक दायित्व पनि हो ,यदि तपाईंहरूले मलाई सम्सदमा प्रतिनिधित्व गर्ने अवसर दिनुभयो भने, पीडितको रकम फिर्ता गराउने कानुनी प्रक्रिया तीव्र बनाउने पहल गर्नेछु। ’ उनले भने । दोषीलाई राजनीतिक संरक्षणबाट मुक्त गर्दै कानुनी कारबाही सुनिश्चित गर्न दबाब दिने उनको भनाइ छ । सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन नीतिगत सुधारका लागि आवाज उठाउने पौडेलले बताए ।

पीडित परिवारलाई अस्थायी राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने चुन्नको भनाइ छ ।सहकारीलाई ठगीको माध्यम होइन, जनविश्वासको संस्थाको रूपमा पुनःस्थापित गर्नुपर्छ भन्ने मान्यतामा आफु अडिग रहेको उनको विश्वास छ ।
उनीहरुले मतदाताका आवाजहरु सुन्दै देखिएका समस्याहरु समाधान गर्ने समेत बताए ।घरदैलोका क्रममा उम्मेदवारहरूले स्थानीय बासिन्दासँग चुनावी एजेन्डाबारे जानकारी गराउनुका साथै उनीहरूको सुझाव र गुनासा पनि सुनेका थिए । सो क्रममा स्थानीयले विशेषगरी सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन तथा डम्पिङ साइटसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने माग राखेका थिए ।

स्थानीयले लामो समयदेखि सुकुम्बासी बस्ती व्यवस्थापन,लालपूर्जा बितरण, व्यवस्थित फोहोर व्यवस्थापन,सडक कालोपत्रे,सुरक्षा लगायतका बिषयमा उम्मेदवारहरुको ध्यानाकर्षण गराएका थिए ।

You may also like