काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष एक हजार ७६ उजुरी दर्ता भएका छन्। निर्वाचन आयोग का अनुसार तीमध्ये १ हजार ६१ उजुरी अर्थात् ९९ प्रतिशत फर्छ्यौट भइसकेका छन्।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेश मा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेश मा ९६ उजुरी दर्ता भएका छन्।
उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए।
आयोगका अनुसार तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोगसम्बन्धी उजुरी सबैभन्दा बढी छन्। साथै, सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको विषयमा पनि उजुरी परेको छ।
त्यस्तै, शिक्षक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेकोलगायत विषयमा समेत उजुरी दर्ता भएका छन्।




