दुःखद संयोग ! आफैंले तयार गरेको चितामा जले केशव भट्टराई

by समतल अनलाइन

काठमाडौं । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो ।

जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए । वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए ।

दीपक दाइको पूर्ण सम्मान साथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।

दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।

अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए ।

तर, दुर्भाग्य अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन् । भट्टराईको आइतबार बेलुका हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए । महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like