गुल्मी । अर्घाखाँचीका ९२ वर्षीय वृद्ध पुरुष गुल्मीको कालीगण्डकी नदीमा मृत फेला परेका छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल बुटवल गोलपार्क बस्दै आएका छविलाल गैरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए।
स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। पहिचानका क्रममा मृतकका जेठा छोरा कृष्णप्रसाद गैरेले शव आफ्ना बुबा छविलाल गैरेकै भएको पुष्टि गरेका हुन्।
पुस २७ गते गैरे हराएको भन्दै परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए भने सामाजिक सञ्जालमार्फत पनि खोजीका लागि आग्रह गरिएको थियो।
पहिचानपछि शवलाई पोस्टमार्टमका लागि निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।



