काठमाडौँ ।महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको छ ।
यो निर्णयपछि कास्की, रुपन्देही, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले सम्बन्धित अभियोग फिर्ता लिनेछन् । ती अदालतमा दायर अभियोगपत्र संशोधन गरिनेछ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीको मुद्दा भने यथावत् रहने स्पष्ट पारिन्। उनले भनिन्, ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने गरी मात्रै आरोप पत्र संशोधन गर्ने स्वीकृत दिइएको हो ।’
बरालले बुधबार चारवटा जिल्ला अदालतमा चलिरहेका मुद्दाका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी थिइन् ।यससँगै कास्की जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुनेछ ।
रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता लिइनेछ। चितवन जिल्ला अदालतमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै मुद्दा नचलेकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको छैन।



