काँग्रेसको विभाजनपछि अब के हुन्छ ?

by समतल अनलाइन
85Shares

काठमाडौँ । नेपाली काँग्रेस अन्तत: विभाजन भएको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।

कारवाही गरेपछि संस्थापन पक्षले निर्वाचन आयोग पुगेर काँग्रेसको विशेष महाधिवेशन आयोजना नभएको र दुई महामन्त्री र सहमहामन्त्रीलाई कारवाही गरेको जानकारी दिएको छ ।

अर्कोतर्फ विशेष महाधिवेशन पक्षले बन्दसत्रको हलबाट सानेपा कार्यालयबाट गरिएको कारवाही खारेज गरेको छ । बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफुहरुले विधान अनुसारनै विशेष महाधिवेशनमा रहेकाले आधिकारिक काँग्रेस आफुहरु नै भएको, पार्टीको झन्डा र चुनाव चिन्ह रुख आफुहरुसँगै हुने दाबि गरे ।

उनले विशेष महाधिवेशनको जानकारी आफुहरुले निर्वाचन आयोगलाई यसअघि नै गराइसकेको र उपस्थित प्रतिनिधिहरुको हस्ताक्षरको विवरण समेत आयोगमा बुझाएको बताए । विशेष अधिवेशन पक्षले आजै गगन थापालाई सभापति घोषणा गर्ने र सबै केन्द्रीय नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरेको छ ।

अब काँग्रेसमा को अधिकारिक भन्ने विषय निर्वाचन आयोग र अदालतको हातमा पुग्ने छ । विशेष महाधिवेशन पक्षले नेतृत्व चयन गरेपछि आयोगमा औपचारिक जानकारी दिएपछि आयोगले यस बारेमा निर्णय लिने छ । आयोगले पार्टीको विधान, राजनीतिक दल सम्बन्धि ऐन अनुसार निर्णय लिएपनि माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय भएकाले तत्काल निर्णय लिनुपर्ने दबाबमा आयोग हुने देखिएको छ । आयोगको निर्णयलाई अदालतमा चुनौती दिन सकिने भएकाले अदालतमा हुने ढिलाईले कहाँसम्म असर हुन्छ त्यसको आँकल अहिले गर्न कठिन छ । संस्थापन पक्ष आयोग गइसकेको अवस्थामा विशेष महाधिवेशन पक्षले पनि नयाँ नेतृत्व चयन गरेर आजै निर्वाचन आयोगमा जाने सम्भावना देखिएको छ ।

काँग्रेसको यस विभाजनले फागुन २१ को निर्वाचन के हुन्छ भन्ने प्रश्न उठेको छ । काँग्रेस विभाजन भएपछि एक पक्षले आधिकारिकता पाउने र अर्को पक्ष निर्वाचनबाट विमुख हुनुपर्ने अवस्था उत्पन्न हुने छ । निर्वाचनको मिति घोषणा भएपछि आयोगले नयाँ दल दर्ता गर्ने समय समेत सकिएकाले अब नयाँ दल दर्ता गरेर फागुन २१ को चुनावमा भाग लिने अवस्था रहेको छैन । त्यसैले पनि काँग्रेसको विभाजनले थप जटिलता बढाएको छ ।

You may also like