बुटवल ।पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा सम्पन्न स्लो बाइक रेस प्रतियोगितामा विनोद कालिराज प्रथम हुनुभएको छ । बुटवलको देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै कालिराज विजेता बन्न सफल हुनुभएको हो ।
प्रतियोगितामा राजन गहतराज द्वितीय र मनोज आचार्य तृतीय हुनुभयो । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः नगद ११ हजार १११, ८ हजार १११ र ४ हजार १११ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।
विजयी प्रतियोगीहरुलाई पहिलो पाइला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्टराई र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै प्रहरी उपरीक्षक रानाले सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरे अधिकांश सवारी दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले ट्राफिक सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पहिलो पाइला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्टराईले युवाहरुलाई एकीकृत गर्दै ट्राफिक सचेतना फैलाउने उद्देश्यले स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । संस्थाले समय–समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रमका संयोजक सन्तोष सुनारले आगामी वर्षहरुमा पनि युवालाई लक्षित गरी नयाँ–नयाँ रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका उपाध्यक्ष गौरव खनालको स्वागत मन्तव्य र सचिव रुद्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।





